अनलाइनबाट समान खरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानी



काठमाण्डौ । इन्टरनेट प्रयोगमा भएको बृद्धीसंगै अनलाइनबाट बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ ।

समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।

जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ ।

यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
साथै बैंकले विदेश स्थित विश्वविद्यालय÷कलेजसंग सम्बन्धि बिभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय\कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवा मार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास लिइएको बैंकले जनाएको छ ।


क्लिकमान्डु