देशभर चिसो बढ्योः काठमाण्डौको न्यूनतम तापक्रम २.५, जुम्लाको माइनस ६ डिग्री
काठमाडौँ । बङ्गालको खाडीको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो ।
साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एकरदुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।
चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ ।
आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो ।
न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।