उर्जामन्त्री पुनको निर्देशनः विद्युत प्राधिकरणका सबै कार्यालय सेवाग्राही मैत्री बनाउनू



सिमरा । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने वताएका छन् ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा बारा जिल्लाको सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

उनले प्राधिकरणलाई आर्थीक,सेवा प्रवाह,उत्पादन र संचालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनु पर्नेमा जोड दिए ।

आफुले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गरे ।

उनले विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले देशमा ५ वर्षमा चाहिएजति विजुली दिन सरकार सक्षम रहेको भन्दै आगामी तीन वर्षभित्र देशका सवै भूभागमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गरे ।

मन्त्री पुनले विद्युत प्राधिकरणको बोर्ड वैठकले प्राधिकरणलाई संघिय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी समेत उक्त अवसरमा दिए ।

उनले प्राधिकरणमा कसैको मुख हेरेर काम गर्ने भन्दा पनि कार्यसम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मुल्यांकन गर्ने अवस्था आउनुपर्नेमा जोड दिए ।

‘अव तपाईहरुले कार्यसम्पादन राम्रो गर्नुपर्यो, नेतृत्वले स्वविवकीय पक्षलाई भन्दा प्रणाली बसाल्नेतर्फ ध्यान पुर्याउछ यसले विद्युत प्राधिकरणको स्वास्थ्य र प्रगतीमा समेत सहयोग पुर्याउँछ ।’ मन्त्री पुनले भने ।

उनले सरुवा र बढुवाका लागी मन्त्री र कार्यकारी निर्देशक कहाँ जानु पर्ने अवस्थाको अन्त्य गर्ने दाबी समेत गरे ।

मन्त्री पुनले सरकार एजेण्डा आर्थिक विकास र समृद्धिको रहेको भन्दै आगामी १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

उहाले त्यसका लागी प्रशारण र वितरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । मन्त्री पुनले ट्रान्सफर्मर नपाएको,मिटर समयमा नपाइएको लगायतका गुनासाहरु बढी आउने गरेको भन्दै सेवाग्रहीको समस्यालाई ध्यानमा राखेर काम गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा.सजय शर्माले वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिए । सचिव शर्माले चुहावट नियन्त्रण भए प्राधिकरणको आर्थिक हित हुने धारणा राखे ।


क्लिकमान्डु