कम्पनीमा सूचिकृत हुन यातायात व्यवसायीलाई सरकारले दियो फागुन मसान्तसम्मको समय



काठमाण्डौ । सरकारले यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको बैठकले यातायातमा सूचीकृत हुने समय फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ‘कम्पनी ऐन’ संसोधन गर्नका लागि उद्योग मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ । कम्पनीमा जतिपनि शेयर सदस्य राख्न पाउने गरी ‘कम्पनी ऐन’ संसोधन गर्न\गराउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

यातायात व्यवसायीले कम्पनीमा गएर यातायात कार्यालयमा सूचीकृत हुन एक सयभन्दा बढी शेयर सदस्य राख्न पाउनुपर्ने र समितिका सम्पत्ति तथा दायित्व कम्पनीमा सर्नुपर्ने माग गरेका थिए ।

व्यवसायीले राखेको मागलाई सम्बोधन गरी सरकारले सूचीकृत हुने समय थप गरेको हो । सरकारले यसअघि मंसिर मसान्तसम्म सूचीकृत नहुने गाडी चलाउन नदिने सूचना जारी गरेको थियो ।


क्लिकमान्डु