पुस १ गतेदेखि समितिमार्फत सञ्चालन भएका गाडी सरकारी नियन्त्रणमा



काठमाडौं । सरकाले समिति मार्फत सञ्चालित सबै गाडी कब्जा गर्ने तयारी गरेको छ । यही पुष १ गतेदेखि कम्पनीमा दर्ता नभएका सबै सवारीलाई सरकारले कब्जामा लिन लागेको हो ।

यातायात विभागले कम्पनीमा दर्ता गरी यातायात कार्यालयमा सूचिकृत नगर्ने गाडीको रुट परमिट खारेज गर्ने भएको छ ।

सूचिकृत गर्नका लागि आज १ दिन मात्रै बाँकी रहेको छ । पुष १ गतेबाट सूचिकृत नहुने सबै गाडीहरु अवैध हुने भन्दै विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले सरकारले दिएको समयभित्र प्रक्रियामा नआएका सबै गाडीलाई कारबाही गर्ने बताए ।

‘पुष १ गतेदेखि समितिमार्फत सञ्चालन भएका सबै गाडीलाई सरकारले कब्जा गरिने छ,’ उपाध्यायले भने ।

प्रक्रियामा नआउनेहरुलाई फेरि समय नगरिने भन्दै समय भित्र कम्पनीमा दर्ता भई रुट पर्मिट लिन आग्रह गरे ।

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्न भन्दै सरकारले कम्पनी दर्ता गरी यातायात कार्यालयमा सूचिकृत हुन मंसिर मसान्तसम्मको समय दिएको छ ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार पुष १ गतेदेखि ९७ प्रतिशत गाडीहरु अवैध हुँदैछन् ।

अहिले भएका ४ लाखभन्दा बढी गाडीमध्यै ७ हजार मात्रै सूचिकृत भएका छन् । यातायात कार्यालयमा अहिलेसम्म झण्डै ३ प्रतिशत गाडी मात्रै सूचिकृत भएको उपाध्यायले जानकारी दिए ।

यसैबीच, सरकारले दिएको समय सीमाभित्र सूचिकृत हुन नसकेपछि यातायात व्यवसायीहरु अब के गर्ने भन्ने छलफलमा जुटेको यातायात व्यवसायी सरोज सिटौलाले बताए ।


पुष्प दुलाल