अनलाइन कारोबार व्यवस्थित भएन, २५ ग्राहकलाई मात्र युजरनेम र पासवर्ड



काठमाडौँ । शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन ।

धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत समस्या भएको छ । यस्तै एउटै हितग्राही खाता धेरै दलाल तथा ग्राहकको कारोवार खातामा देखिन गएकाले कारोवारमा पहुँच दिन नसकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टकमा युजरनेम र पासवर्ड कसरी लिने भन्दै लगानीकर्ताले अत्यधिकमात्रामा चासो देखाएपछि धितोपत्र दलाल व्यवसायीलाई बोलाएर छलफल गरेको छ । सहजरुपमा युजरनेम र पासवर्ड दिने व्यवस्था मिलाउन, आवश्यक सम्झौता गर्न तथा स्टकको प्रणालीमा आइसकेको ग्राहकको कारोवार खाता र हितग्राही खाताको विवरण परीक्षण गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

नयाँ दर्ता भएका ग्राहकको हितग्राही खाता एकीकृत गर्न स्टकले एक ढाँचा तयार पारी सदस्य दलाललाई उपलब्ध गराइसकेको छ । यस्तै स्टकले आगामी पुस १७ गतेदेखि मर्चेन्ट बैंकलाई समेत एकीकृत कारोवार सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको समेत जानकारी दिएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार गत कात्तिक २० गतेदेखि शुरु भएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि त्यसमा आवश्यक सुधार गरी यही मङ्सिर २३ गते आइतबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

प्रवक्ता पराजुलीका अनुसार हाल ५८ ग्राहकको खाताको विवरण स्टकमा प्राप्त भएको छ । त्यसमा कूल ४५ खाताको विवरण आजमात्रै प्राप्त भएका हुन् । त्यसमध्ये २५ ग्राहकलाई युजरनेम र पासवर्ड दिइएको छ । बुधबार तीन ग्राहकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीबाट शेयर खरिद बिक्री गरेका थिए । रासस


क्लिकमान्डु