आइएमएफको प्रक्षेपण यो वर्षको आर्थिक बृद्धि ६.५ प्रतिशत



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ ।

आइएमएफको आर्टिकल फोर मिसनले नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने जनाएको हो ।

आर्टिकल फोर मिसनले नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुननिर्माणमा भएको काम तथा सेवा र उत्पादनमुलक क्षेत्रमा भएको बृद्धिले साढे ६ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

आइएमएफका ग्रिट एल्मीकेन्डर्सले नेतृत्व गरेको आर्टिकल फोर मिसनले नेपालमा अर्थमन्त्री डा युवराज खतिवडा,राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल सहित उच्च अधिकारी तथा निजी क्षेत्रसँग भेटवार्ता गरेको थियो ।

‘नेपालको आर्थिक बृद्धिदरले एउटा गति लिएको छ,विद्युत्को सहज आपूर्ति,राजनीतिक स्थिरता तथा पुननिर्माणको भएको कामको कारण यो वर्ष ६.५ प्रतिशत आर्थिक बृद्धिदर हुने हाम्रो अनुमान छ,’ एल्मीकेन्डर्सले भ्रमणको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । नेपालले यो भन्दा अगाडि लगातार दुई आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हासिल गरेको छ । आर्थिक बृद्धिदरको यो बृद्धिलाई आइएमएफले नेपाली अर्थतन्त्रले एउटा दिशा लिएको जनाएको छ ।


क्लिकमान्डु