लेखा परीक्षण सम्बन्धी छलफलमा मुख्यमन्त्री पौडेलले भने-बर्सेनि बढ्ने बेरुजु रोक्नुपर्छ
हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक बर्ष बढ्ने बेरुजु खर्च रोक्नुपर्ने बताएका छन् । आधारबिना प्रत्येक बर्ष बेरुजु बढ्नु आर्थिक अनियमितता भएको उनले बताए ।
महालेखा परीक्षकको कार्यालयले बिहिबार आयोजना गरेको लेखा परीक्षण सम्बन्धी छलफलमा बोल्दै उनले कसरी हुन्छ बेरुजी घटाउनु पर्ने बताएका हुन् । प्रत्येक बर्ष बढ्ने यस्ता खर्चहरुलाई महालेखाले निरुत्साहित गर्नुपर्ने पनि उनको भनाई थियो ।
प्रदेश सरकारले भ्रष्टाचारमुक्त पारदर्शी सरकारको उद्देश्य लिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका खर्चहरुको विवरण जनताले समेत विश्वास गर्ने खालको हुनुपर्ने धारणा राखे । लेखा परीक्षणलाई औपचारिकता पूरा गर्ने मात्र नभई पारदर्शी बनाउनु पर्छ–उनले भने ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले खर्चको प्रणालीमा केहि समस्या रहेको भन्दै नीतिगत रुपमा सच्याउन आबश्यक रहेको बताए । विभिन्न बहानामा बजेट चुहावट भएको भन्दै यसको नियन्त्रण गर्न आग्रह गरे ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले लेखा परीक्षणको विषयमा अझैपनि धेरैलाई जानकारी नरहेको बताए ।
कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्माले धेरै वटा चरण पार गरेपछि मात्र लेखा परीक्षण सम्पन्न हुने भएकोले यसको विषयमा शंका नगर्न आग्रह गरे । सबै खर्चहरुको दुरुस्त कागजात अनुसार नै लेखा परीक्षण हुने उनले जानकारी दिए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, प्रदेशका मन्त्रालयका सचिबहरु, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।