७ जिल्लामा १ लाख स्याउका बिरुवा बाँडिदै, ८ करोडका बिरुवा इटलीबाट भित्रदै



काठमाडौं । सरकारले उत्पादन बढी हुने स्याउ वगैँचा स्थापना गर्ने भएको छ । त्यसका लागि सरकारले कृषकलाई अनुदानमा १ लाख विरुवा वितरण गर्ने भएको छ । यसका लागि कृषकहरुसँग आवेदन माग भएको थियो ।

१ लाख बिरुवाका लागि साढे ९ लाख विरुवाको आवेदन परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरुको छानबीन गर्ने तयारी थालेको छ ।

सरकारले चालु आर्थिक वर्षको पुस महिनामा ८ करोड ४६ लाख रुपैयाँ बराबरको उत्पादन धेरै दिने स्याउका विरुवा ल्याउन लागिएको हो । स्याउका बिरुवा इटलीबाट ल्याइने भएको छ ।

उक्त इक्लेभर स्याउको बिरुवा महङ्गो रहेको र त्यसलाई व्यवस्थित तरिका खेति गर्नु पर्ने परियोजनाका वरिष्ठ कृषि अधिकारी परशुराम रावतले जानकारी दिए । उक्त विरुवा एउटैको १५÷१६ सय रुपैयाँ पर्न जाने उनले बताए ।

उनका अनुसार सरकारले हिमाली भेगमा स्याउ उत्पादनका लागि बिरुवा वितरण गर्ने योजना बनाएको हो ।

स्याउ उत्पादन हुने सबै जिल्लामा स्याउको विरुवा वितरण गर्न सम्भव नभएकाले पहिलो पटकमा ७ जिल्लामा स्याउको बिरुवा वितरण गर्न लागिएको उनले जानकारी दिए । यो कार्यक्रम सफल भए अर्को पटक ६० करोडको बिरुवा नेपाल ल्याइने योजना रहेको छ ।

उनका अनुसार हाल मनाङ, मुस्ताङ, मुगु, जुम्ला, सोलुखुम्बु, कालिकोट र डोल्पामा स्याउको बिरुवा वितरण गर्न लागिएको हो । उक्त स्याउको बिरुवा अरु जातको स्याउ जस्तो नभएकोले यसबाट पहिलो वर्ष मै धेरै स्याउ उत्पादन हुने उनले जानकारी दिए ।

‘यस विरुवालाई राम्रोसँग हुर्काउन सकियो भने ४० वर्षसम्म एउटै विरुवाले उत्पादन दिन सक्ने क्षमता हुन्छ,’ रावतले भने ।

उक्त विरुवा व्यवसायिक किसान तथा सहकारी मार्फत सामूहिक र चक्लाबन्दीमा खेती गर्ने किसानहरुलाई वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।


क्लिकमान्डु