नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने, प्रहरीले थाल्यो विशेष अभियान
काठमाडौँ । ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ ।
नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।
उहाँका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् ।
उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
“मङ्सिर २० गतेदेखि ट्याक्सी चालकलाई कारवाही शुरु गरेका छौँ”, प्रवक्ता सापकोटाले भने, “पाँचपटक कारवाहीमा प¥यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।” उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाइएको छ ।
पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने सापकोटाले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारवाही थालिएको हो । उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्त पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र छ महीनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ ।
सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारवाही थालेको हो । अहिले दैनिकजसो करीब १०० सम्म ट्याक्सी चालक कारवाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।
महाशाखाको तथ्याङ्कमा आर्थिक वर्ष २०७०\७१ मा चार हजारभन्दा बढी चालक कारवाहीमा परेका थिए । आव २०७४\७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सी चालक कारवाहीमा परेका छन् । चालू आवको मङ्सिर २४ सम्ममा तीन हजार ३२० चालक कारवाहीमा परेको अभिलेखले विश्लेषण गर्दा चालकको लापरवाही बढिरहेको देखाउँछ ।
त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार काठमाडौँमा नौ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् ।