बर्षको बीचमा गरिने बजेट सुनिश्चिततालाई गम्भीर आर्थिक विचलन भनेका अर्थमन्त्री त्यसै गर्न लागे




काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि देशको आर्थिक अबस्थाको बारेमा स्वेतपत्र सार्बजनिक गरे । उनले स्वेतपत्र सार्बजनिक गरेको एक बर्ष पुगेको छैन ।

सो स्वेतपत्रमा अन्य विषयसँगै बजेट कार्यान्वयन भइरहेको अबस्थामा कुनै आयोजना विशेषलाई स्रोत सुनिश्चितता भन्दै दायित्व थपिदिनु गम्भीर आर्थिक बिचलन भएको उल्लेख गरे ।

उनले सार्बजनिक गरेको स्वेतपत्रमा बजेट कार्यान्वयनकै चरणमा रहेको अबस्थामा जथाभावी रुपमा बजेट सुनिश्चितता गर्नु हुदैन भने । कतिपय अबस्थामा स्रोत सुनिश्चित नभए पनि सुनिश्चित भनेर दीर्घकालिन दायित्व थपिदिएको उनको आशय थियो ।

उनले स्वेतपत्र मार्फत यस्तो धारणा सार्बजनिक गरेपछि कुनै पनि आयोजनालाई आवश्यक पर्ने रकम बजेट सार्बजनिक गर्दै ब्यवस्था गरिन्छ भन्ने अनुमान थियो । तर, उनले आफू अगाडिका अर्थमन्त्रीहरुलाई आरोप लगाउन उल्लेख गरेको यस्तो विषय विपरित आफैले केही आयोजनालाई बजेट सुनिश्चितताको पत्र दिन थालेका छन् ।

क्लिकमाण्डूडटकमलाई प्राप्त एक पत्र अनुसार अर्थमन्त्रालयले राप्ती लोकमार्ग (अमेलिया-तुल्सिपुर-सितलपाटी) ४९ करोड रुपैयाँको बजेट सुनिश्चित गरिदिएका छन् । आर्थिक बर्षको बीचमा अर्थमन्त्रालयले गरेको यस्तो कार्य अर्थमन्त्री डा. खतिवडाले सार्बजनिक गरेको स्वेतपत्रको आशत विपरित भएको अर्थकै अधिकारीहरु बताउँछन् ।

अर्थमन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयलाई पठाएको पत्रमा सो आयोजनाको लागि चालु आर्थिक बर्षमा थप १२ करोड रुपैयाँ दिने, आगामी आर्थिक बर्षमा २० करोड रुपैयाँ दिने र त्यसको अर्काे आर्थिक बर्षमा थप १७ करोड गरी जम्मा ४९ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको जानकारी गराएको थियो । अर्थको यस्तो जानकारी पछि भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले सडक विभागलाई सोही अनुसार गर्न गराउन पत्राचार गरेको छ ।

सो आयोजनाको लागि चालु आर्थिक बर्षमा पनि बजेट विनियोजन गरिएको तर अपुग भएको भन्दै यसरी बजेट दायित्व थप गरिएको हो । यो बजेट दाङ जिल्लामा पर्ने सडक निर्माणका लागि हो । सो आयोजनाको लागि सुरुमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ ।

यस्तै अर्थमन्त्रालयले चितवन जिल्लामा पर्ने अर्काे आयोजनाको लागि बजेट थपिदिएको छ । अर्थमन्त्रालयले चितवन जिल्लाको भरतपूर-माडी-ठोरी हुलाकी सडकको पकौडीचोकदेखि जगतपूर राप्ती पुलसम्मको करिब ७ किलोमिटर सडक स्तरोन्नतिका लागि ९ करोड ७५ लाख रुपैयाँ बजेट थपिदिएको छ ।

अर्थले गत मंसिर १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै बजेट थप गरिदिने जानकारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । सो आयोजनाको लागि थप १० करोड रुपैयाँ मागिएको भएपनि अर्थले २५ लाख रुपैयाँ घटाएर ९ करोड ७५ लाख रुपैयाँ दिएको छ ।


क्लिकमान्डु