होल्ड गर्न सक्ने गरेर मात्र शेयर खरिद गर्नुहोस्ः अर्थमन्त्री खतिवडा




काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर लगानीकर्ताहरुले होल्ड गर्न सक्ने गरेर मात्र शेयर खरिद गर्नु पर्ने बताएका छन् ।

अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । बैठकमा उनले भने–शेयर बजार ब्यापार चक्र हो, धैर्य गर्न सक्नु पर्छ ।

ओभर ड्राफ्ट लिएर १५ दिनमा शेयर बढ्ने भनेर शेयर लिनु भएन–अर्थमन्त्री खतिवडाले शेयर लगानीकर्तालाई लक्षित गर्दै भने ।

शेयर बजारको बारेमा के कस्तो अवस्था हो भनेर अध्ययन गर्न कार्यदल गठन भएको र कार्यदलले शुक्रबार सुझाव दिने अर्थमन्त्री खतिवडाले अर्थसमितिको बैठकमा जानकारी दिए ।

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको बेला अर्थमन्त्री डा. खतिवडालाई आज अर्थ समितिले बैठकमा बोलाएको हो ।

यता, पूँजीबजारमा देखिएको समस्या समाधानका लागि भन्दै अर्थ मन्त्रालयले यही मंसिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । यसैबीच, शेयर बजार निरन्तर घट्दै गएपछि पूँजी बजार सुधार र विस्तारका लागि शेयर लगानीकर्ता दबाब समूहले ३ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को गेटबाहिर रिले अनशन जारी राखेका छन् ।


क्लिकमान्डु