युवा स्वरोजगारका लागि बैंकले दिएनन् १ खर्ब ३० अर्ब रकम, योजना अलपत्र
काठमाडौं । युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न नमान्दा समस्या बढ्दै गएको पाइएको छ ।
कोषको कार्यविधिअनुसार सहुलियपूर्ण कर्जा प्रवाहका लागि बैंकको लगानी र व्यवसायीको बीमा गरे पनि बंैकले लगानी गर्न नमानेका हुन् ।
देशका बेराजगार युवालाई स्वरोजगार बनाउन अर्थमन्त्रालयले उक्त कार्यविधि ल्याएको हो ।
कार्यविधिअनुसार बैंकले युवालाई सहुलियतपूर्ण रूपमा गत कात्तिक २० गतेदेखि नै ऋण उपलब्ध गराउनुपर्ने रहेको थियो ।
बैंकले लगानीको सुरक्षा नभएको भन्दै ऋण दिन मानेका छैनन् । सरकारको बेरोजगार ४ लाख युवालाई वार्षिकरूपमा उक्त कार्यविधिअनुसार कर्जा प्रवाह गरेर स्वरोजगार बनाउने योजना रहेको छ ।
उक्त योजना राष्ट्रिय युवापरिषद्ले सहजीकरण गरेर कार्यविधि गत असोजमा पारित भएको थियो ।
कार्यविधिमा बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा बेरोजगार युवालाई ५ प्रतिशतको दरले १० लाखसम्म बिना धितो र १० लाखभन्दा बढी ऋण प्रवाह गर्दा अनिवार्य धितो राख्नुपर्ने उल्लेख छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले सबै बंैकले सम्झौता अनुसार युवालाई स्वरोजगार बनाउन १ खर्ब ३० अर्ब कर्जा प्रवाह गर्नुपर्ने बताउछन् ।
‘बैंकहरूलाई के कारणले कर्जा प्रवाह गर्न समस्या भयो ? त्यो बैंकले भन्नुपर्दछ, तर सम्झौता अनुसार बंैकले युवालाई स्वरोजगार बनाउनका लागि भने कर्जा प्रवाह गर्नुपर्दछ,’ उपाध्यक्ष दङ्गालले भने ।
उक्त कार्यविधि अनुसार बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमी १५ लाख, दलित समुदाय व्यवसाय कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा तीन लाख उपलब्ध गराउने उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बंैकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले कार्यविधि अनुसार कर्जा प्रवाह नगर्ने बैंकलाई कारवाही गरिने बताए ।
उनका अनुसार २८ वटा बंैकले कोषसँग सम्झौता गरिसकेको र प्रत्येक तीन–तीन महीनामा कर्जा प्रवाह गरे नगरेको राष्ट्र बैंकले जानकारी लिनेछ ।
अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले कर्जाको सुरक्षण र व्यवसायको पनि बीमा गरिएकाले बैंकलाई ऋण प्रवाहमा समस्या नभएको बताउँछन् ।
बैंकले कर्जाको सुरक्षाको सुनिश्चिता नभएको भन्दै ऋण प्रवाह नगरेको परिषद्का उपसचिव धु्रवराज पौडेलले बताए ।
बैंकको लगानी डुबे सो कार्यविधिमा नेपाल राष्ट्र बंैकको निरपेक्ष तथा कर्जा सुरक्षण कोषबाट ७५ प्रतिशत सोध भर्ना गर्न पाउने व्यवस्था रहेको छ ।