काँग्रेस नेता लामाद्वारा स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स सहयोग



चरिकोट । नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए ।

उनले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गरेका थिए । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गरे ।

“यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्” सांसद लामाले भने, “मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।

उनले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चातको तलबभत्ता रकम खर्च गरेको बताए । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।


क्लिकमान्डु