२६ करोडको लागतमा शीत भण्डार बन्ने, क्षमता ३ हजार मेट्रिक टन




परासी । जिल्ला सहकारी सङ्घको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार स्थापना हुने भएको छ । २६ करोडको लागतमा स्थापना हुन लागेको शीत भण्डार तीन हजार मेट्रिक टन क्षमताको रहनेछ ।

जिल्लाको सुनवल नगरपालिका–२ मुखिया टोलमा सुनवल नगरपालिकाले उपलब्ध गराएको डेढ बिगाहा जग्गामा निर्माण हुन लागेको भण्डारमा नेपाल सरकारको ६० र सहकारीको ४० प्रतिशत सामूहिक शेयर लगानी हुने जिल्ला सहकारी सङ्घका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिइएको शीत भण्डारमा जिल्लाका कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने सङ्घले जनाएको छ । किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायत वस्तुहरु अलगअलग तापक्रममा राख्ने व्यवस्था हुने सङ्घका अध्यक्ष पौडेलले जानकारी दिए ।

किसानलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्धि गर्न शीत भण्डारले सहयोग पुग्ने सुनवल नगरप्रमुख भीमबहादुर थापाको विश्वास छ ।

“किसानले खेती गर्ने व्यावसायिक नहुँदा वर्षभरि खान नपुग्ने भएपछि किनेरै खानुपर्ने बाध्यता छ । खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

“यस्तो अवस्थामा शीत भण्डारले जिल्लाका किसानलाई धेरै फाइदा पुग्ने विश्वास छ,” सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलका व्यवस्थापक टीकाराम तिमिल्सिनाले भन्नुभयो । सो सहकारीले मात्रै शीत भण्डारमा दश लाख लगानी गरेको जनाएको छ । शीत भण्डार स्थापना हुने भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । रासस


क्लिकमान्डु