स्थानीय जनप्रतिनिधिलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझावः भ्रष्टाचाररुपी रोग गाउँमा नल्याउनू



खोटाङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचाररुपी रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई आज सम्बोधन गर्दै उनले सिंहदरबारको अधिकार पुर्याउनुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको उल्लेख गरे ।

जनप्रतिनिधिको कमजोरीका कारण सङ्घीयता विरोधीलाई सङ्घीयता मास्ने बहाना मिल्यो भने गम्भीर त्रुटि हुने डा भट्टराइको भनाइ थियो । खोटाङ पुगेका डा भट्टराईले सङ्घीयतालाई स्वीकार गर्न नमान्ने पङ्क्तिका कारण निर्वाचनअघि कानून निर्माण हुन नसकेको र स्पष्ट कानून अभावमा हाल स्थानीय तह सञ्चालनमा कानूनी जटिलता आइपरेको बताए ।

विशेष नगरसभालाई सम्बोधन पछि डा भट्टराईले किरात समुदायको उद्गम थलोकारुपमा रहेको तुवाचुङ जायजुमको अवलोकन गरे । हलेसीको सम्भाव्यताबारे अध्ययन, तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम लिएर डा भट्टराई पाँच दिनका लागि खोटाङ गएका हुन् ।

डा भट्टराईसँग नगरपालिकाले हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाका विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।


क्लिकमान्डु