प्रदेश मन्त्री नेपाल भन्छन्-३ नम्बर प्रदेशलाई ‘औद्योगिक हब’ बनाउँछौं



हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने बताएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उनले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू आवलाई ‘उद्योग वर्ष’का रुपमा मनाइरहेको बताए ।

“लगानीकर्तामाँझ सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले उद्योग वर्ष मनाउने निर्णय गरेका हौँ”, उनले भने, “प्रदेश सरकार सानाठूला सबै प्रकृतिका उद्योगलाई प्रोत्साहन गर्न चाहन्छ, त्योअनुरुप नीति बनाइसकेका छौँ ।”

उनले प्रदेश मन्त्रिपरिषद् बैठकले ‘प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५’ लाई प्रदेशसभामा पेश गर्न अनुमति दिएको जानकारी दिए । मन्त्री नेपालले उद्योगीलाई स्थानीय कच्चा पदार्थ र स्थानीय जनशक्तिलाई उपयोग गर्नसमेत आग्रह गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले प्रदेश सरकारले प्रादेशिक औद्योगिक ऐन बनाउनु स्वागतयोग्य भएको धारणा राखे । उनले मुलुककै ठूलो औद्योगिक क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकारको सहयोगको खाँचो औँल्याए ।

हेटौँडा औद्योगिक क्षेत्रमा तीन हजार ११९ रोपनी क्षेत्रमा फैलिएको औद्योगिक क्षेत्रमा हाल १०१ उद्योग सञ्चालनमा छन् ।


क्लिकमान्डु