कृषि मन्त्री र अमेरिकी राजदुतबीच भेट, कृषि क्षेत्रमा सहयोग गर्न अमेरिका तयार



काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरु सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए ।

अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रीकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ । नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए ।

नेपालमा हरेक बस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ ।

जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए । त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो ।

नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाहरुको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदुत बेरीले बताए ।


क्लिकमान्डु