पूर्वाधार कम्पनी निर्माण गर्ने प्रदेश सरकारको निर्णय



हेटौंडा । ३ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बुधबार बसेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनितिको मस्यौदा २०७५ स्वीकृत गरेको छ ।

यसैगरी, मुख्यमन्त्रीले सम्हालेको भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्न कानुन तर्जुमाको सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, उद्योग पर्यटन, वन तथ वातावरण मन्त्रालयले पेश गरेको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धी विधेयक २०७५ प्रदेश सभामा पेश गर्ने, प्रदेश संयुक्त बजार अनुगमन निर्देशिका २०७५ र डिभिजन वन कार्यालयको संगठन संरचना स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी, संघीय खानेपानी मन्त्रालयले पठाएको १ सय ५ जना कर्मचारीको प्रदेश दरबन्दी स्विकृत गरेको छ । यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा विद्युतिय बस सञ्चालन गर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री पौडेल, मन्त्री जम्कट्टेल, उद्योग पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा सहभागी थिए ।


क्लिकमान्डु