जग्गा बर्गिकरण बिना आधुनिक शहरीकरण असम्भव, मन्त्री राई भन्छन्-नयाँ शहरको काम अघि बढ्दैछ



काठमाडौं । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले जग्गा वर्गिकरण बिना आधुनिक शहरीकरण सम्भव नभएको प्रश्न उठाएका छन् ।

बैठकमा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नयाँ शहर विकासका बारेमा गरेको प्रस्तुतिपछि सांसद केदार सिक्देलले जग्गा वर्गिकरण बिना आधुनिक शहरीकरणमा जान नसकिने बताएका हुन् ।

यस्तै एकै ठाउँमा जग्गा एकीकरण गरी त्यसमा एकिकृत वस्ती बनाउन सके त्यो झन् उपयुक्त हुने उनले ध्यानआकर्षण गराएका थिए । बैठकमा सांसद राजेन्द्र राईले पछिल्लो समय नयाँ शहर कार्यक्रम अलपत्र परेको र यसलाई मूल ढंगमा कार्यान्वयन हुने गरी अघि सार्नुपर्ने बताए ।

बैठकमा सांसद गौरिशंकर चौधरीले भने-‘यहाँ सहर विकासको नाउँमा एउटाले पाइप ल्याउन बाटो खन्छ, अर्को आउँछ बाटो पिच गर्छ, अर्कोले पोल हाल्ने भन्दै बाटो बन्छ, अर्को फुटपाथ भएन भन्दै आउँछ, बाटो लम्बाउने भन्छन् फेरी बाटो खन्छन्, बाटो भत्काउन एक दिनपनि लाग्दैन त्यही भत्केको बाटो बनाउन वषौँ कुर्नुपर्ने अवस्था छ, यसमा के गर्नु पर्ने हो सबै गरेर मात्र बाटो पिच गर्ने की के गर्ने समन्वयन गरेर जानु पर्यो ।’

सांसदहरुले राखेको धारणाबारेको जवाफमा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले १ सय ८५ वटा नगरपालिकाहरुमा नयाँ शहर निर्माणका लागि अध्ययन भइरहेको बताए ।

‘हामी १ सय ८५ वटा नगरपालिकामा नयाँ शहर बनाउने काममा लागेका छाँै, त्यसमापनि अनुगमन र नियमन गरी दु्रतगतीमा काम अगाडी बढाउन लागेका,’ मन्त्री राईले भने ।

मन्त्री राईले नयाँ शहरका लागि २ अर्ब लगानी गर्ने योजना मन्त्रालयले बनाएको बताए । १ सय २० करोड थप परिचालन गर्ने योजना रहेको उनले बताए ।


क्लिकमान्डु