श्रोत व्यवस्थापनमा ध्यान दिन पुनर्निर्माण प्राधिकरणलाई समितिको निर्देशन



काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले भूकम्प प्रभावित सबै स्थानीय तहमा एउटा एकिकृत नमुना बस्ती बनाईने बताएका छन् ।

विकास तथा प्रविधि समितिको आजको बैठकमा यस्तो बताएका हुन् । प्रत्येक स्थानीय तहमा एकिकृत बस्ती बनाउनको लागि अर्थमन्त्रालयमा बजेट माग गरिएको उनले बताए ।

भूकम्प पीडितले सहुलियत व्याजको कर्जा नपाएको विषयमा सांसदहरूले सरकारको आलोचना गरे । यस सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले घर बनाउन थालेको, तर सम्पन्न गर्न नसकेकालार्इ ३ लाख कर्जा दिने विषय सरकारको प्राथमिकतामा परेको बताए ।

समितिको बैठकमा प्राधिकरणका सिइओ ज्ञवालीले निजी आवास निर्माणका लागि जम्मा लाभग्राही संख्या ८ लाख १२ हजार १६१ रहेको जानकारी दिए । तीमध्ये ७ लाख ३२ हजार ७७१ सँग अनुदान सम्झौता भएको बताए ।

हालसम्म तीन लाख १५ हजार ८९७ वटा निजी आवास निर्माण सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार पाँच लाख ६० हजार ७८१ घर निर्माण कार्य सुरु भएको छ ।

सिइओ ज्ञवालीले अहिलेसम्म प्राधिकरणले सम्झौता भएकामध्ये ४३ प्रतिशत घर निर्माण सम्पन्न भएको जानकारी दिए । ‘७ लाख २६ हजार ३३३ घरका लागि प्रथम किस्ता भुक्तानी दिइसकेका छौं,’ उनले भने, ‘त्यसमा ५ लाख ६० हजार ७८१ घरको निर्माण कार्य सुरु भइसकेको छ।’ हालसम्ममा ९९ सय प्रतिशत प्रथम किस्ता भुक्तानी भइसकेको भने सम्झौताको ७७ प्रतिशत निर्माण कार्य सुरु भइसकेको छ।

त्यस्तै पाँच लाख ३१ हजार १९ संख्यामा दोस्रो किस्ता माग आएकोमा ५ लाख २२ हजार १९३ को प्रमाणीकरण भइसकेको र पाँच लाख १८ हजार ५५ घरले भुक्तानी पाएको प्राधिकरणले जनाएको छ।

तेस्रो किस्ता तीन लाख ४४ हजार ३९८ घरले माग गरेकोमा तीन लाख ३४ हजार ५० संख्याले प्रमाणीकरण गरेको र तीन लाख १९ हजार ६६९ ले भुक्तानी पाएका छन् ।

प्रबलीकरणका लागि ११ हजार ८९५ सँग सम्झौता भएकोमा हालसम्म प्रथम किस्ता ८८ प्रतिशत अर्थात् १० हजार ४६४ लाई भुक्तानी गरिएको ज्ञवालीले बताए। उनका अनुसार उक्त प्रबलीकरणबाट ५४ हजार ६५८ लाभग्राही हुने देखिन्छ ।

आजको बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले श्रोत व्यवस्थापनमा ध्यान दिन प्राधिकरणलाई निर्देशन दिएकी थिइन् ।


क्लिकमान्डु