सामाजिक सुरक्षा योजना घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने-सरकार कहीँ हराएको छैन




काठमाण्डौ । प्रधामन्त्री केपी शर्मा ओलीले योगदानमा आधारिक सामाजिक सुरक्षा योजना घोषणा सरकार कहाँ हरायो भन्नेहरुका लागि दरिलो जवाफ रहेको बताएका छन् ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषद्वारा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।

समारोहमा नयाँ युगको शुरुआत भएको घोषणा गर्दै प्रधामन्त्री मन्त्री ओलीले भने– अहिलेको सरकार कहाँ हरायो ? यो सरकारले सिन्को पनि भाँचेन, जम्रा पनि मारेन भनेर आलोचना गर्नेहरुले आजको कार्यक्रमबाट दरिलो जवाफ पाए । सरकार कहीँ हराएको छैन ।

अब विरोधीहरुले नचाहेर पनि यो सरकारलाई देख्नेछन्, यति गर्दा पनि देखेनन् भने उनीहरुको दृष्टि कमजोर भएको हुन सक्छ, चिकित्सक कहाँ जान सल्लाह दिन्छु– प्रधानमन्त्री ओलीले भने ।

सामाजिक सामाजिक सुरक्षा योजनाको शुभारम्भ तामझामका साथ गरियो भनेर आलोचन शुरु भइसकेको छ, प्रधामन्त्री ओलीले भने–केही दिनमा मेलम्चीको पानी काठमाण्डौ आउनेछ, अहिले त तामझाम मात्रै गर्यौं, अब मुलुकलाई समृद्धितिर अघि बढाउने कार्यक्रम घोषणा गर्दा नौमति बाजा बजाएर घोषणा गर्छौँ ।

काममाण्डौका सडकमा धुलो उड्न कम हुँदैछ, अब सडक पखालेर चिल्लो बनाउँछौं, त्यति बेला जता फक्र्यो त्यतै सरकार देखिनेछ । अनि अहिले बिरोध गर्नेहरु त्यतिबेला सरकार खोज्न कहाँ जालान ? प्रधामन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुलाई सांकेतिक रुपमा व्यङ्ग्य गरे ।

आजको कार्यक्रमको तामझाम सरकार देखिन भन्नेहरुका लागि, सरकार सुनिन भन्नेहरुका लागि देखाउन र सुनाउन हो–उनले भने ।

नेपाली जनताको आदेशमा राणा शासन, पञ्चायती व्यवस्था र राजा फालेको प्रशंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले आदेश दिए दुई ठूला वामपन्थी पार्टी मिल्यौं, अब देश बनाउन भनेर नेपाली जनताको आदेश छ, अब देश पनि बनाउँछौं–प्रधामन्त्री ओलीले भने ।

सामाजिक सुरक्षा योजनाले श्रम बेच्ने र श्रम किन्ने दुबैलाई फाइदा हुने उनले बताए । सामाजिक सुरक्षा योजनाले ढुकुटीमा भएको रकम झिकेर बाँड्ने मात्र काम गर्दैन्, त्यो कोषमा थप्दै झिक्दै गर्ने परिपार्टीबाट यो योजना अघि बढ्ने बताए ।

केही वर्ष पछि सामाजिक सुरक्षा कोष देशकै ठूलो कोष हुनेछ । यो कोषको कार्यान्वयन पनि सही ढंगले हुनेछ । प्रधानमन्त्री ओलीले भने–यसका लागि अहिलेको सरकारले बाटो बनाउनेछ, त्यसपछि त्यो बाटामा गाडी कुद्न थाल्नेछ, कसैले दायाँबाँया गर्न पाउँदैन ।

सामाजिक सुरक्षा योजनामा नेपाल सरकार, रोजगारदाता र श्रमिक एकै ठाउँमा आएका छन्, आजको यो घटना दुनियाँमा नै दुर्लभ घटना मध्येको एक भएको प्रधामन्त्री ओलीको जिकीर थियो ।

सरकारले सरकारी सेवाका कर्मचारीलाई मान र मानो दिन्छ, तर अब गैरसरकारी क्षेत्रका श्रमिकहरुलाई पनि मान र मानो हुनेछ, सामाजिक सुरक्षा योजनाले यही परिपाटीको विकास गर्छ प्रधानमन्त्री ओलीले भने ।

राज्य नियन्त्रणकारी निकाय मात्र होइन, नागरिकको अभिभावक पनि हो । राज्य हुनुको दायित्व पूरा गर्नका लागि सामाजिक सुरक्षा योजना कोशेढुंगा सावित हुनेमा प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

२०५१ सालमा तत्कालीन एमालेको ९ महिने सरकारको बेला शुरु गरेको सामाजिक सुरक्षा भत्ताको निरन्तरता स्वरुप आजको दिन सामाजिक सुरक्षा योजनाको कार्यक्रम घोषणा भएको समेत उनले उद्घोष गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा सामाजिक सुरक्षा कोषका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, श्रम मन्त्री गोकर्ण विष्ट सहितका मन्त्रीहरु, सचिवहरु, रोजगारदाताहरु, रोजगारदाता तथा श्रमिक संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु