जनप्रतिनिधिहरुसँग सिइओ ज्ञवालीको आग्रह-पुनर्निर्माणलाई सहज र छिटो गर्नुस्




धुलिखेल । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माण सम्बन्धी स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गरेर पुनर्निर्माणलाई थप सहज र छिटो बनाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

निजी आवास पुनर्निर्माण सम्बन्धी काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संविधान र पुनर्निर्माण सम्बन्धी नीति नियम र कार्यविधिहरुले दिएका अधिकार प्रयोग गरी निजी आवास र पुनर्निर्माण सम्बन्धी कामलाई अघि बढाउन आग्रह गरेका हुन् ।

संघीयताको कार्यन्वयन गर्ने सन्दर्भमा पुनर्निर्माण सम्बन्धी सम्भव भएका अधिकारहरु स्थानीय तहलाई प्रदान गरेका छौं, ज्ञवालीले भने । स्थानीय तहसँग एकाकार गरेर काम गरी पुनर्निर्माण सम्बन्धी देखा परेका समस्याहरुलाई समाधान गर्दै चालू आर्थिक वर्षमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्न सक्छौं ।

गत भदौ २१ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणलाई थप सहजीकरण गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

त्यसपछि प्राधिकरणले ९९ वटासम्मको एकीकृत बस्ती विकास, गुनासोको सुनुवाई, पुनस्सर्वेक्षण स्थानीय तहमा रहेका इन्जिनियरहरुको परिचालन, गुम्बा पुनर्निर्माण लगायतमा स्थानीय तहलाई संलग्न गराउने निर्णय गरिसकेको छ ।

नीतिगत, स्रोतको व्यवस्थापन, प्राविधिक पक्ष लगायत उपलब्ध गराउने भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्वामित्व लिएर पुनर्निर्माणका काम अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

अनुदान सम्झौता गरेका मध्ये हाल ७७ प्रतिशतको निजी आवास पुनर्निर्माण काम भइरहेको र ४३ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएका छन् ।

निर्माण भइरहेका घरलाई छिटो बनाउनका लागि सहजीकरण गर्न र निर्माण हुन बाँकीलाई घर निर्माण गर्न प्रोत्साहन गरी चालू आर्थिक वर्षमा निजी आवासको पुनर्निर्माण सम्पन्न गर्न प्राधिकरणले स्थानीय तहमा थप जनशक्तिहरु स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार निजी आवास पुनर्निर्माणको सिफारिस स्थानीय तहबाट गर्न प्राधिकरणले प्रत्येक स्थानीय तहमा एक जना सिनियर इन्जिनियर पठाउनेछ ।

उनीहरुले स्थानीय तहमा भएका इन्जिनियरहरु र प्राविधिकहरुको क्षमता अभिवृद्धिमा पनि सहयोग पुर्याउने छन् । त्यसैगरी प्रत्येक स्थानीय तहमा एक जना सामाजिक परिचालक पठाइनेछ । उनीहरुले पुनर्निर्माण सम्बन्धी कामलाई समन्वय र जीवीकोपार्जनमा समेत सहयोग पुर्याउनेछन् ।

निजी आवास पुनर्निर्माणमा थप सहयोग पुर्याउन भूकम्प प्रभावित जिल्लाका विभिन्न ठाउँमा घुम्ती डकर्मी परिचालन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने– घुम्ती डकर्मीहरुले बन्दै गरेका घरलाई सुरक्षित र बलियो बनाउन सहयोग गर्नेछन् ।ु

कतिपय ठाउँमा इन्जनियरहरु स्थानीय तहमा नबसेको र जनप्रतिनिधिहरुले पनि मापदण्डमा नपरेका घरहरुलाई पारिदिए हुन्थ्यो भन्ने आशयले कुरा गरेको गुनासो आएको भन्दै उनले खटाइएको ठाउँमा नबसे इन्जिनियरहरुलाई कारवाही गर्ने चेतावनी दिए ।

यस्तै गुनोसो र पुनस् सर्वेक्षणका क्रममा एक जनालाई नछुटाउने र गलत व्यक्तिलाई सिफारिस नगर्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई घर बनाउन र जीवीकोपार्जन कार्यक्रमलाई अघि बढाउन सरकारले उपलब्ध गराएको सहुलियत ऋण लिएर काम गर्नका लागि भूकम्प पीडितलाई प्रोत्साहन गर्न पनि आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कम्तिमा एक स्थानीय तह एक एकीकृत बस्ती विकास, स्थानीय तहमा पुनर्निर्माण सामुदायिक समितिको गठन, वृद्धवृद्धा र अशक्तको निजी आवास पुनर्निर्माणमा सहयोग गर्न पनि जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले पुनर्निर्माणको अनुगमन र मूल्यांकन गर्ने समेत अधिकार रहेको जिल्ला समन्वय समितिलाई सक्रिय पार्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रदेश नं. ३ का सभासद् बसुन्धरा हुमागाईँले जनप्रतिनिधिहरुले निष्पक्ष रुपमा काम गर्न आवश्यक रहेको बताउँदै अनुदान पाउन छुट भर्इ स्थानीय तहले पाठाएका नामलाई प्राधिकरणले अनुमोदन गर्नु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गाउँमा बस्नेले धेरै भूकम्प पीडितले घर बनाइसकेको जानकारी दिँदै जिल्लामा नबस्ने भूकम्प पीडित र बस्ती स्थानान्तरण गर्ने ठाउँमा समस्या रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्नका लागि सबैपक्षबीच समन्वय गरी काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

महाभारत गाउँपालिका प्रमुख कान्छालाल डिम्माले प्राविधिकहरुलाई गाउँपालिकामा पठाउने, गाउँपालिकाको सिफारिस विना सरुवा नगर्ने र तलब समेत गाउँपालिकामा पठाउने व्यवस्था भए पुनर्निर्माणका काम छिटो अघि बढाउन सहज हुने बताए ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले आफ्नो वडा नं। ४ मा ६८ घरधुरिमाथि रहेको पहिरोलाई अध्ययन गरी व्यवस्थापनमा पहल गरिदिन प्राधिकरणलाई आग्रह गरे ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले आफ्नो नगरपालिकाम ७५ जना भूमिहिन लाभग्राही रहेको र उनीहरुको आवास निर्माणका लागि यथाशक्य पहल गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

दुईदिन सम्म चल्ने कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यहरु, सहसचिव, उपसचिव, स्थानीय तहका जनप्रतिनिधिहरु, इन्जिनियरहरु, प्राधिकरण अन्तर्गत रहेका निकायका कर्मचारी, पुनर्निर्माणमा काम गरिरहेका जिल्लाका विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति छ ।


क्लिकमान्डु