मुख्यमन्त्री पौडेल भन्छन्- ९ महिनामा प्रदेश सरकारले के काम गर्यो भनेर नागरिकले सोध्न थाले



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बृद्ध नेपाल सुखि नेपालीको अभियानमा प्रदेश सरकार सफल भएरै छोड्ने बताएका छन् । सरकार गठन भएको ८ महिनाको अवधिमा धेरै सकारात्मक कार्यहरुको प्रारम्भ भएको बताउँदै उनले अब सरकारको काम देखिने समय आएको धारणा राखेका छन् ।

प्रदेश तहमा आर्थिक विकासको रणनीति विषयक २ दिने कार्यशालाको उद्घाटन गर्दै उनले गन्तव्य बिना आर्थिक बिकास नहुने प्रष्ट पारे । दैनिक कार्यलाई आर्थिक विकास र उत्पादनसँग जोडिएको खण्डमा सम्बृद्धिको बाटो भेट्टाउन धेरै समय नलाग्ने उनको धारणा रहेको थियो ।

संघीय सरकारसंगै प्रदेश र स्थानीय सरकारपनि संगै हिडेर जनताको सपना साकार बनाउने अभियानमा रहेकोपनि उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले कर्मचारी अभाव भएर केहि समस्या देखा परेको बताए । संघीय सरकारले हालसम्मपनि न्यूनतम कर्मचारी नपठाउँदा प्रदेश र स्थानीय तहको काम प्रभावित भएको उनको भनाई छ । केही समयपछि प्रदेश सरकारले कामको गति लिने उहाँले बताउनु भयो ।

९ महिना अवधिमा प्रदेश सरकारले के काम गर्यो भनेर नागरिकले सोध्न थालेको बताउँदै उनले काम गर्ने शैली र मानसिकतामा परिवर्तन गर्नुपर्ने बेला आएको धारणा राखे । अब कामका लागि काम भन्दा पनि नागरिकले अनुभूति गर्ने परिणाममुखी काम गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश नम्बर ३ प्राकृतिक स्रोत र साधनको धनी रहेकोले यसको सदुपयोग गर्नुपर्ने बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिब आनन्दराज ढकाल, मन्त्रालयका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधि लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


क्लिकमान्डु