पुनर्निर्माणमा मुख्यमन्त्री पौडेलको चासो, प्राधिकरणका सिईओसँग भेटवार्ता
हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीसंग पुनर्निर्माणका बिषयमा जानकारी लिएका छन् ।
सोमबार मुख्यमन्त्री पौडेल र सिईओ बीच भएको भेटवार्तामा पुनर्निर्माणमा भईरहेको प्रगतिका बिषयमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री पौडेलले भुकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकीहरुको पुननिर्माण तिब्र गतिमा गर्नुपर्ने बताएका थिए । त्यसैगरी जाडो महिना सुरु भईसकेको भन्दै मुख्यमन्त्री पौडेलले भुकम्पपिडित परिवारलाई यथाशिघ्र घर निर्माण गरी पुनरबासको व्यवस्था गर्न आग्रह समेत गरेका थिए ।
छिटो भन्दा छिटो भुकम्पबाट पीडितभएकाहरुको उचित व्यवस्थापन गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताए । सिईओ ज्ञवालीले सकेसम्म कामलाई तिब्रता दिन लागिपरेको बताएका थिए ।
बढिभन्दा बढि लाभग्राहीहरुलाई पुनःस्थापना गराउन प्राधिकरणले कोशिश जारी राखेको पनि उनको भनाई थियो ।
प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनर्निर्माण दुई बर्षभित्र सम्पन्न गर्न संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख समेत गरेको छ ।