८० करोडको महलमा बसेर अमेरिकाका लागि नेपाली राजदुतले यसरी गर्दैछन् देशको बेइज्जत !



बाल्टिमोर । विदेशमा बस्ने नेपालीहरुको लागि उनीहरुको स्थानीय सरकार हो दुतावास । त्यहाँ बस्ने नेपालीहरुको सेवा सुविधा र नेपालको कुटनीतिक सम्बन्ध विस्तारको लागि भनेरै सरकारले करोडौं खर्च गरेर विदेशमा नेपाली दुतावासको स्थापना गरेको छ ।

सम्पन्न देखि विपन्न देशसम्म सरकारले करोडौं खर्च गरेर स्थापना गरेको दुतावासमध्ये अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको नेपाली दुतावासको चर्चा अझै सेलाएको छैन ।

हालै मात्र सरकारले डिसीको गल्लीमा रहेको साँघुरो दुतावासलाई छोड्दै करिब ८० करोड रुपैयाँ खर्च गरेर राजदुतको लागि आलिसान घर खरिद गरेपछि दुतावासको चर्चा अझैं बढेको छ ।

राजदुतको लागि खरिद गरिएको आलिशान घर अमेरिकाको डिसीमा रहेको सुरक्षाको हिसाब १३औं सुरक्षित घर हो । तर दुतावास भने पर्याप्त पार्किङ समेत नभएको साँघुरो घरमा रहेको छ ।

यही ८० करोडको घरमा बसेर राजदुत डा. अर्जुनकुमार कार्कीले सेवा दिने दुतावासले भने डिसीमा बसेर नेपालको खिल्ली उडाईरहेको छ । विदेशमा वस्नेहरुले नेपालको बारेमा आधिकारीक जानकारीको लागि हेर्ने दुतावासको आधिकारीक वेभसाईडमा राखेको सुचनामा न त नेपालको भुगोल सही छ, न त नेपालको जनसंख्या नै यकिन छ । दुतावासको आधिकारीक वेभसाईडमा यसले नेपालको प्रचार होईन भ्रम छर्ने काम गरिरहेको देखिन्छ ।

दुतावासको वेभसाईड हेरे प्रष्ट हुन्छ यो अमेरिकी दुतावासको वेभसाईड होईन कुनै सिकारुले सिक्नको लागि लेखेको वेभसाईड हो ।

अन्तर्राष्ट्रिय मामिलामा काम गर्ने संस्था त्यो पनि अमेरिका जस्तो देशमा रहेको दुतावासको वेवसाईडमा सयौँ गल्तीहरू छन् । सामान्य अग्रेजीदेखि सुचनाहरु सबै अधुरा राखिएका छन् । यसमा भाषाको स्तर मात्र होइन, नेपाल बारे त्यसमा राखिएका थुप्रै जानकारी अस्पष्ट र त्रुटिपूर्ण समेत छन् ।

लेखक खतिवडा

वेबसाइटमा नेपालको क्षेत्रफल अनुमानित १ लाख ४७ हजार लेखिएको छ । गुगलमा हेरे पनि स्पष्ट देखिन्छ नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ किलोमिटर हो । तर दुतावास अनुमान गरेर बसिरहेको छ । त्यस्तै नेपालको जनसंख्या समेत करिब (करिब) २ करोड ९५ लाख भनिएको छ । कुनै अध्ययनको लागि ठ्याक्कै संख्या खोज्नेलाई यो करिब शब्दले अरु स्रोत खोज्न बाध्य पारिदिन्छ । तथ्यांक विभागको वेबसाइटमा नेपालको जनसंख्या तोकेरै राखिएको छ ।

उता विश्व बैंकले पनि सन् २०१७ अनुसार नेपालको जनसंख्या २ करोड ९३ लाख ४ हजार ९ सय ९८ स्पष्ट रुपमा लेखेको छ । नेपालकै राष्ट्रिय जनगणना २०६८ एघारौं जनगणनाको अन्तिम रिपोर्टमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार लेखिएको छ । दुतावासले अर्को लाइनमा नेपालको जनसंख्या वृद्धिदर २.५ प्रतिशत भनेर लेखेको छ यो २०५८ को जनगणनाको बृद्धिदर । तर विसं.२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत छ ।

हेर्दा सामान्य देखिए पनि यस्ता सुचनाहरु विदेशीले नेपालको विषयमा गर्ने अध्ययनलाई प्रभाव पार्न सक्नेतिर दुतावासको ध्यान पुगेको देखिँदैन । अमेरिकाको वासिंटन डिसीमा बसेर नेपाली दुतावासले नेपालमा बोलिने भाषाहरु, नेपालको जैविध विविधता, मौसम, धर्म, सांस्कृतिक सम्पदादेखि रीतिरिवाज र चाडबाडका जानकारी समेत स्पष्ट रुपमा दिन सकेको छैन ।

दुतावास भनेको देशको पहिलो र प्रमुखद्वार हो यसले राष्ट्र र जनता दुवैको स्पस्ट रूपमा व्याख्या र वर्णन गर्न सक्नु पर्छ नत्र अन्तराष्ट्रिय जगतमा गलत सुचना र जानकारी जान सक्छ तर यहाँ भएको गल्तीहरू हेर्दा त हाम्रो राष्ट्र यो भूगोलको कहाँ, कसरी र कुन अवस्थामा छ सम्म भन्न नसकिने अवस्था छ ।

अमेरिकामा रहेका पत्रकार उपहार जंग शाह भन्छन् ‘विदेशस्थित राजदूतावासको महत्वपूर्ण जिम्मेवारीमध्ये पर्छ दुई देशबीच पुलको काम गर्नु अनि देशबारे सही सूचना प्रवाहमा भूमिका खेल्नु । यसमा निकै ठूलो भूमिका हुन्छ, राजदूतावासको वेबसाइटमा राखिने सूचनाको ।

मानौं, कुनै अमेरिकी नागरिक नेपाल भ्रमणका लागि इच्छुक छ, उसले आधिकारिक सूचनाका लागि सबैभन्दा पहिले हेर्ने नै नेपाली राजदूतावासको वेबसाइट हो । तर अब अमेरिकाजस्तो शक्तिशाली मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने हाम्रो राजदूतावासको वेबसाइटमा एकछिन आँखा सरसर्ती डुलाउने हो भने लाग्छ, प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीले पनि अमेरिकास्थित नेपाली राजदूतावासको वेबसाइटमा भएको भन्दा स्तरीय अंग्रेजीमा त्यहाँ भएभन्दा गुणस्तरीय सूचना तयार पार्न सक्छ ।’

के हो नेपालको शासकीय प्रणाली ?

दुतावासले नेपालको शासकीय प्रणली र सरकारबारे दिइएको सूचनाअनुसार ६०१ सिटको लागि संविधानसभाको निर्वाचन भएको त लेखिएको छ । अरु कुनै सुचना छैन । अहिले देश संघीय प्रणालीमा गएर संसदको पुनसंरचना भईसकेको जानकारी समेत यो दुतावासलाई भएको देखिँदैन ।

प्रधानमन्त्री केपी ओलीको सरकार गठबन्धनको सरकार भन्दै दुतावासले सुचना फैल्याईरहेको छ । तर अहिलेको सरकार गठबन्धनको हो कि बहुमतको हो ? त्यो जानकारी दुतावासलाई छैन । सामान्य अग्रेँजी भाषामा समेत स्पष्ट पार्न नसकेको दुतावासको सुचनाले नेपालको बारेमा यतिसम्म भ्रम फैल्याउँखा समेत कसैको ध्यान जान सकेको छैन ।

सेवाग्राही भन्छन्- नेपालको वडा कार्यालय

दुतावासले दिने सेवा सुविधालाई हेर्ने हो भने नेपालको कुनै स्थानीय वडा कार्यालयको भन्दा कम छैन । फोन नउठाउने, झर्किने र गोराहरु देखे मात्रै सचेत हुने कर्मचारीको कारण सेवाग्राही आजित छन् ।

‘एउटा सानो प्रश्नको लागि ५ पटक फोन गरियो तर कुनै चित्तबुझ्दो जवाफ आएन । राजदुतको घर भन्दा पहिला दुतावासको हालत सुधार्नुपर्ने देखिन्छ,’ केही समय अगाडि मात्रै सेवाको लागि दुतावासबाट दिक्क भएकी क्रिस्तृना शर्माको अनुभव छ ।

विशेष गरेर विदेशमा कुनै पनि संस्था, कम्पनी वा निकायले दिने सेवा र सुविधाको विषयमा जानकारी राख्न पहिला उक्त निकायको रिभ्यू(सेवाग्राहीको प्रतिक्रिया) हेर्ने गरिन्छ । सेवाग्राहीले कस्तो प्रतिक्रिया दिएका छन् त्यो अनुसार उक्त स्थानमा सेवा लिने विषयमा अमेरिकीले सोच्ने गर्दछन् ।

नेपालमा केही सुरु भएपनि अमेरिकामा भने यो निकै महत्वपूर्ण छ तर डिसीमा रहेको अमेरिकी दुतावासको सेवाग्राहीको प्रतिक्रिया हेर्ने हो भने यो दुतावास बन्दै गर्नुपर्ने अवस्थामा छ । करोडौं खर्च गरेर राजदुतलाई घर किन्ने सरकारले दुतावासले दिने सेवा सुविधाको विषयमा आखाँ चिम्लिएको छ ।


पुष्प दुलाल