मकवानपुर र धादिङमा शान्ति पार्क निर्माण हुँदै, प्रदेश सरकारको अग्रसरता, लागत १६ करोड



हेटौंडा । ३ नम्बर प्रदेश सरकारले २ वटा शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।

आज आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अध्ययन गरेर चालु आर्थिक वर्षबाट नै निर्माण अगाडि बढाईने बताइयो ।

अहिले पार्क निर्माण क्षेत्रमा गाउँपालिकाहरुको सीमित रकमबाट कार्य समेत गरेका छन् । २ वटा पार्क निर्माणका लागि १-१ करोड बजेट समेत विनियोजन भईसकेको छ ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले पार्कहरु बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने- ‘पार्क निर्माण गर्न जति सजिलो छ, त्यसलाई व्यवस्थापन तथा संरक्षण गर्न धेरै अप्ठ्यारोपनि छ ।’

त्यस्तै कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले महत्वपूर्ण व्यक्तिहरुसंग गाँसिएको पार्क निर्माण गर्न प्रदेश सरकार अग्रसर भएको बताए । यी पार्कहरुको निर्माणमा प्रदेश सरकारले प्रमुख भूमिका निर्वाह गर्नेपनि जानकारी दिए ।

धादिङमा निर्माण गरिने पार्कको अनुमानित लागत करिब १० करोड रहेको छ । सो पार्कमा चेपाङ संग्रालय, तालिम हल, भ्यू प्वाईन्ट, पिकनिक स्पोट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना रहेको छ ।

त्यसैगरी मकवानपुरमा निर्माण हुने पार्कको लागत साढे ६ करोड रहेको छ । पार्कमा पिकनिक स्पोट, बाल उद्यान, गोल घर, मन्दिर, व्यवसायिक सटर, स्विमिङ पुल, मैत्री बगैचा, भ्यू प्वाईन्ट लगायतका संरचना निर्माण हुने छ ।

छलफल कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद कुमारी मोक्तान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रमेश शिवाकोटी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु भीम परियार, हर्षबहादुर थापालगायत सहभागि थिए ।

कार्यक्रममा गाउँपालिकाका ईन्जिनियरहरुले पार्क कस्तो बन्नेछ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए ।


क्लिकमान्डु