वनारस आइपुग्यो पानीजहाज, नेपालमा कहिले ?



काठमाडौं । विश्व बैंकको सहयोगमा निर्माण भएको भारतीय जलमार्ग वनारससम्म आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जलमार्गको सोमबार उद्घाटन गरेका हुन् । प्रयागराज– हल्दिया जलमार्गको दुरी १ हजार ६२० किलोमिटर लामो रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलकाताबाट जलमार्ग हुँदै पानीजहाज सीधै अब वनारस आउन सक्नेछ । सो परियोजनालाई भारत सरकारले इन्ल्याण्ड वाटर टर्मिनल नाम दिइएको छ ।

कोलकाताबाट पेप्सी इन्डियाको सामान बोकेर रविन्द्रनाथ टैंगोर नाम दिइएको पानी जहाज वनारस आइपुगेको हो । अन्तरदेशिय जलमार्ग परियोजनाका लागि भारतले २०६ करोड भारु खर्च गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

सन् १९८६ मा नै सुरु भएको भएको भएपनि सो परियोजना पर धकेलिदै आएको थियो । भारतको प्रधानमन्त्रीमा मोदी आएपछि उनले सन् २०१४ देखि पुनः सो परियोजना अगाडि बढाएका थिए । हल्दियादेखि बनारससम्मको सो परियोजनाका लागि विश्व बैंक र भारत सरकारले समान पभास पचास प्रतिशत गरी कूल ५३ अर्ब ७० करोड भारु खर्च गरेका छन् ।

नेपालले समेत गण्डकी नदीलाई नै जलमार्ग बनाउने योजना अगाडि सारेको छ । वनारससम्म जलमार्ग जोड्ने परियोजनाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अगाडि बढाइरहेको छ ।

सरकारले जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वका जलमार्ग निर्माण सम्बन्धी काम गराइरहेको छ ।

नेपालको सीमासम्म गण्डक र कोशी नदीमा जलमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी छ । गण्डक नदीमा सञ्चालन हुने जलमार्गलाई एन ३७ नाम दिइएको छ भने कोशीको जलमार्गलाई एन ५८ नाम दिइएको छ । एन ३७ जलमार्ग साहिबगन्ज र एन ५८ कालुघाटमा जोडने योजना छ ।

यसअघिको अध्ययनले गंगा नदीमा जलमार्ग सञ्चालन गर्न सम्भव रहेको देखाएको थियो । नेपालको पनि कोशी र गण्डकमा जलमार्गको सम्भाव्यता रहेको भन्दै अध्ययन सुरु गरिएको छ । वनारससम्म पानी जहाज आएपछि आफूहरुलाई पनि त्यसले खुसी तुल्याएको जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले जानकारी दिए ।

पछिल्लो पटक भारतले सञ्चालनमा ल्याएको जलमार्गले पश्चिम बंगाल, झारखण्ड, बिहार र उत्तर प्रदेशलाई प्रत्यक्ष रुपमा जोडेको छ । ती ४ राज्यमा २० टर्मिनल राखिएको छ । सो जलमार्गको क्षमता १२ लाख टन हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पनि नेपालमा छिट्टै पानी जहाज आउने बताउँदै आएका छन् ।


पुष्प दुलाल