एकैदिन ५९ रुपैयाँले घट्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य



काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य एकैदिन ५९ रुपैयाँले घटेको छ । आइतबार बजार खुल्नुअघि प्रतिकित्ता ६९० रुपैयाँ रहेको बैंकको सेयर मूल्य बजार बन्द हुँदा ६३१ रुपैयाँमा झरेको हो ।

एकैदिन यति धेरै मूल्य घट्नुको मूख्य कारण हो बैंकले घोषणा गरेको लाभांस ।

बैंकले आइतबार मात्रै गत आर्थिक वर्षको नाफाबाट चालू आर्थिक वर्षमा साढे १७ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो ।

बैंकले नगद लाभांसको मात्रै घोषणा गरेपछि बोनस सेयरको आशामा रहेका लगानीकर्ताहरु झस्किए । लगानीकर्ताहरु यो बैंकको सेयर किन्न भन्दा बेच्नतिर बढी आकर्षित भएका छन् ।

बैंकको सेयर मूल्य ह्वात्तै घटेपछि नेप्सेले केही समयका लागि कारोबार बन्द (सर्किट ब्रेक) लगाएको थियो । नेप्सेले अस्वभाविकरुपमा घट्दा वा बढ्दा लगानीकर्तालाई कूल बनाउनका लागि सर्किट ब्रेक लगाउने गर्छ ।

गत आर्थिक वर्ष बैंकले १०० प्रतिशत बोनस शेयर दिएको थियो ।

त्यो बेला बैंकको सेयरमूल्य २२९९ रुपैयाँसम्म पुगेको थियो । नेप्से सूचक १८८२ अंकमा पुगेको बेला यो बैंकको एक कित्ता सेयरको मूल्य ३७६६ रुपैयाँसम्म पुगेको थियो ।

बैंकले बोनस सेयर नदिएपछि र नगद लाभांस पनि साढे १७ प्रतिशत मात्रै दिएपछि त्यसको असर मूल्यमा परेको हो । आइतबार नेप्सेमा चार्टर्ड बैंकको ६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

चाटर्ड बैंक मात्रै होइन, यो वर्ष अधिकांस बैंकहरुले बोनस कम र नगद लाभांस बढी दिनेछन् । जसकारण बैंकको सेयरमा लगानीकर्ताको आकर्षण कम हुने र त्यसले नेप्से इन्डेक्समै असर गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।


क्लिकमान्डु