१७.३१ अंकले घट्यो नेप्से, कारोबार जम्मा ९ करोड मात्र



काठमाडौं । तिहारको बिदापछि कार्यालय खुलेको पहिलो दिन नेप्से परिसूचक घटेको छ । तिहारको बिदा शुरु हुनु अघिबाट अनलाइन कारोबार शुरु भएको अवस्थामा साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक १७.३१ अंकले घटेको हो ।

१.४२ प्रतिशतले परिसूचक घट्दा १२०५.२२ विन्दूमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले जनाए अनुसार आज १ सय २५ कम्पनीका ३ लाख १४ हजार २ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्तीय समूह र अन्य समूह बाहेक सबै समूह घटेका छन् । बैंकिङ समूह २५.०८, होटल समूह ३.५८, विकास बैंक समूह ६.०५, जलविद्युत समूह १३.२२, निर्जीवन बीमा समूह ४३.०७, लघुवित्त समूह ३.०८ र जीवन बीमा समूह २९.११ अंकले घटेका हुन् । यस्तै, वित्तीय समूह १.२५ र अन्य समूह ०.७३ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी कारोबार प्रभु बैंकले गरेको छ । सो बैंकले ८४ लाख ८८ हजार ६ सय ८९ रुपैयाँको टर्नओभर गरेको हो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी कमाई गरेको छ । संस्थाले ३.५२ प्रतिशतले कमाई गरेको हो । यस्तै, एपी पावर कम्पनीले आज सबैभन्दा बढी गुमाएको छ । कम्पनीले ९.९४ प्रतिशतले गुमाएको हो ।


क्लिकमान्डु