कमजोर वित्तीय अवस्था भएको कम्पनीलाई आइपिओ बिक्रीको स्वीकृति



काठमाडौँ । नियमक निकाय नेपाल धितोपत्र बोर्डले कमजोर वित्तीय अवस्था भएका कम्पनलिाई साधारण शेयर बिक्री गर्ने अनुमति दिएको छ ।

बोर्डले जोशी हाइड्रो पावर कम्पनीलाई १४ करोड ४८ लाख ४६ हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

आयोजना प्रभावित इलामवासीलाई साधारण शेयर बिक्री गरिसकेको सो कम्पनीलाई बोर्डले कूल पूँजीको १५ प्रतिशत बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीले इलाममा ३ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले गत जेठमा आयोजना प्रभावितलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको तीन लाख ७१ हजार ४०० कित्ता शेयर बिक्री गरिसकेको छ ।

कम्पनीको समग्र अवस्था विश्लेषण गर्ने कम्पनी इक्रा नेपालले गरेको परीक्षणमा जोशी हाइड्रोपावरले ग्रेड ५ पाएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने हो ।

यस्तै साधारण शेयर बिक्रीको तयारीमा रहेको भैरवकुण्ड जलविद्युत् कम्पनीलाई इक्रा नेपालले ग्रेड पाँच दिएको छ । सो कम्पनीले रु ३१ करोड ८३ लाख २८ हजार बराबरको ३१ लाख ८३ हजार २८० कित्ता शेयर बिक्री गर्न लागेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई रु छ करोड ५० लाख बराबरको छ लाख ५० हजार कित्ता शेयर बिक्री गर्नेछ । कम्पनीले सिन्धुपाल्चोकमा ३ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल