तिहारमा ‘नो लोडसेडिङ’का लागि कुलमान योजनाः ३५ सय कर्मचारी २४ सै घण्टा ‘स्ट्याण्डबाइ’




काठमाडौं । आजदेखि नेपालीको दोस्रो महत्वपूर्ण चाड तिहार सुरु भएको छ । उज्यालो पर्वको रुपमा परिचित तिहारलाई थप झिलीमिली पार्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै २४ सै घण्टा खटिने गरी ३ हजार ५ सयभन्दा बढी कर्मचारी परिचालन गरेको छ ।

कुनै पनि स्थानमा विद्युत् प्रसारणमा अवरोध नहोस् भन्ने ध्येयका साथ उक्त संख्यामा कर्मचारी परिचालन गरिएको हो ।

प्रत्येक वितरण केन्द्रबाट २५ जनाका दरले प्राधिकरणका कर्मचारी ‘स्ट्याण्डबाई’ रहने व्यवस्था गरिएको छ ।

यस्तै ग्रीड महाशखा मातहतका कर्मचारीलाई पनि प्राविधिक सहयोगका लागि स्ट्याण्डबाई राखिएको प्राधिकरणले जानकारी दिएको छ ।

नो लाइट शाखाका कर्मचारीलाई समेत नियमित रुपमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

देशभर ११० वितरण केन्द्र र ग्रीड सञ्चालनमा छन् । त्यसआधारमा हेर्दा देशभर नै तिहारका लागि ३ हजार ५ सयभन्दा बढी कर्मचारी परिचालित हुने देखिएको छ ।

विगत २ वर्ष पहिलेदेखि प्राधिकरणले देशव्यापी रुपमा लोडसेडिङको अन्त्य गरेको छ ।

लोडसेडिङ अन्त्य गरिएको २०७३ सालको तिहारमा बुढानिलकण्ठको एकाध घरमा सामान्य प्राविधिक समस्याका कारण विद्युत् उपलब्ध हुन नसकेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा अधिकतम १ हजार २७० मेगावाट बराबरको डिमाण्ड हुने बताएका छन् ।

उनले १ हजार ५ सय मेगावाटसम्मको माग आएपनि व्यवस्थापन गर्न सकिने बताएका छन् ।

कुनै पनि घर अध्यारो नहोस् भनेर प्राधिकरणले विशेष सावधानी अपनाएको बताइन्छ ।

तिहारको समयमा उद्योग तथा प्रतिष्ठान नचल्ने भएकाले त्यसमा प्रयोग हुने विद्युत् समेत घरायसी ग्राहकलाई वितरण गर्ने तयारी प्राधिकरणको छ ।

वितरण केन्द्र, नोलाइट, ग्रीडका कर्मचारीले कुनै कमजोरी गरे विभागीय कारवाही गर्ने चेतावनी समेत प्राधिकरण नेतृत्वले दिएको छ ।

उपभोक्ताले फोन गर्दा नउठे तथा कुनै पनि स्थानमा समस्या आए आधा घण्टा भित्र व्यवस्थापन गर्ने गरी तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

तिहारका लागि भनेर प्राधिकरणले नेपालको एकमात्र पावर व्यांक कुलेखानी पूर्ण क्षमतामा बढी विद्युत् माग हुने समयमा चलाउने भएको छ ।

यस्तै भारतबाट पनि मागअनुसारको विद्युत् आयात गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु