गाउँपालिकामा यस्ता पनि अध्यक्षः आफूले पाएको सबै तलबभत्ता मतदातालाई बाँड्दै




काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले आफूले राज्यबाट पाएको तलब भत्ता गाउँपालिकाका जनतालाई नगदै बाड्ने गरेका छन् ।

निर्वाचनको बेलामा आफूले जनतासँग गरेको प्रतिवद्धता अनुसार तलब भत्ता वितरण गरेको अध्यक्ष खड्काले बताए ।

‘राज्यबाट पाउने तलब भत्ता वापतको रकम गरिब, दलित र विपन्न परिवारका सदस्यको स्वास्थ्योपचारमा खर्च गर्छु भनेर चुनावको बेलामा प्रतिवद्धता गरेको थिएँ, तर यसमा केही विवाद आउने देखियो, त्यस्तो देखिएपछि गाउपालिकाका प्रत्येक घरधुरीलाई प्रतिघरधुरी १ हजार रुपैयाँका दरले वितरण गर्न थालेको हूँ,’ अध्यक्ष खड्काले क्लिकमाण्डूसँग भने ।

राज्यबाट तलबभत्ता आउने थालेदेखि नै अध्यक्ष खड्काले यसरी रकम वितरण गरिरहेको बताएका छन् । उनले अहिलेसम्म करिब ४ सय घरधुरीलाई यसरी रकम बाढिसकिएको जानकारी दिए ।

उनले कात्तिक १७ गते भने गाउपालिकाको ४ नम्बर वडामा यसरी रकम वितरण गरेका छन् । सो वडाका केही घरधुरीले रकम पाउन बाँकी रहेपनि अध्यक्ष खड्काले बाँकी रहेका घरधुरीलाई छिट्टै रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका सो वडाका वडासदस्य मोहन मगरले जानकारी दिए ।

सो गाउँपालिकामा करिब ६ हजार घरधुरी रहेको बताइएको छ । ६ हजार घरधुरीलाई १ हजार रुपैयाँका दरले वितरण गर्दा ६० लाख रुपैयाँ चाहिन्छ । गाउँपालिका अध्यक्षको तलब मासिक ३० हजार रुपैयाँ र भत्ता समेत गर्दा मासिक ५० हजार रुपैयाँको हाराहारीमा हुने गरेको छ ।

तर, उनले मासिक पाउने तलब भत्ता सबै बाढ्दा पनि उनको कार्यकालभरीमा गाउपालिकाका सबै घरधुरीले १ हजार रुपैयाँको दरले रकम पाउन सक्ने अबस्था भने देखिदैन ।

किनभने गाउँपालिका अध्यक्षको मासिक तलबभत्ता ५० हजार रुपैयाँ गणना गर्दा पनि बर्षको ६ लाख रुपैयाँ हुन्छ । जननिर्वाचित प्रतिनिधिको कार्यकाल ५ बर्षको छ । बार्षिक ६ लाख रुपैयाँका दरले पाउदा पनि गाउपालिका अध्यक्षले ५ बर्षमा ३० लाख रुपैयाँ पाउने अबस्था रहन्छ । तर, प्रतिघरधुरी १ हजार रुपैयाँको दरले रकम बाँड्न उनलाई ६० लाख रुपैयाँ चाहिने भएकोले थप ३० लाख रकम अभाव हुने देखिएको हो ।

तर, रकम अपुग भएमा सकारात्मक विभेदको नीति लिइने अध्यक्ष खड्काले बताए ।

‘आफूसँग ब्राण्डेड कार भएका घरधुरीलाई मैले दिएको १ हजार रुपैयाँले के नै अर्थ राख्ला र, त्यसले त्यस्तो परिवारले रकम लिनुहुने छैन र १ हजार रुपैयाँले पनि आफ्नो एउटा गर्जाे टर्ने अबस्था भएका सबै परिवारले रकम पाउन सक्ने अबस्था रहन्छ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष खड्काले थपे ।

मतदाताप्रति उत्तरदायी भएर आफूले यसरी रकम वितरण गरेको उनको भनाइ छ ।

‘चुनाबको बेलामा घाम पानी, उकालो ओरालो केही नभनी भोकभोकै आएर मतदान प्रक्रियामा उहाँहरु सहभागी हुनुभयो, उहाँहरुलाई हामीले पानी खुवाउन समेत सकेनौं, उहाँहरुले मतदान गरेकै कारण हामीहरु जनप्रतिनिधि हुन पाएका छौं, सामाजिक प्रतिष्ठा पाएका छौं, राज्यका प्रतिनिधि भएर काम गर्न पाएका छौं, यस्तो गुन लगाउने मतदाताको गुनको सम्मान स्वरुप यसरी रकम वितरण थालेको हूँ,’ अध्यक्ष खड्काले भने ।


क्लिकमान्डु