कुलमान भन्छन्-तिहारमा १५०० मेगावाटको डिमाण्ड आएपनि व्यवस्थापन हुन्छ




काठमाडौं । तिहारलाई बत्तीको पर्वको रुपमा लिइन्छ । जतातै बालिएका बत्तीका कारण तिहारको आफ्नै मौलिकता रहेको छ ।

विगत २ वर्षदेखि लोडसेडिङको अन्त्य गरेको नेपाल विद्युत् प्राधिकरणले आगामी तिहारलाई लक्षित गरेर केही नयाँ योजना अगाडि सारेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तिहारमा १ हजार ५०० मेगावाटसम्म विद्युत् माग हुन सक्छ । तर प्राधिकरण आफैले भने १ हजार २७० मेगावाटको लोड प्रक्षेपण गरेको छ ।

‘हामीले प्रक्षेपण गरेकोभन्दा पनि बढी माग आउन सक्छ, तर हामीले त्यसका लागि आवश्यक तयारी गरेका छौं, प्राविधिक रुपमा कही कतै समस्या आए मात्रै हो, नत्र कुनै पनि स्थानमा बत्ती जाँदैन, कोही पनि अध्यारोमा बस्नु पर्दैन,’ कार्यकारी निर्देशक घिसिङले भने ।

यो हिउँदमा बत्तीको थप जोहो गर्ने लक्ष्यका साथ घिसिङ र प्रवक्ता प्रंबल अधिकारी बिहिबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्राधिकरणले तिहारका लागि भन्दै नेपालको एक मात्र जलाशयुक्त आयोजना कुलेखानी नलचालई राखेको छ ।

अघिल्ला बर्षहरुमा भन्दा यस वर्ष कुलेखानीको जलाधार क्षेत्रमा बढी बर्षा भएका कारण पनि पानीको सतह बढेर १ हजार २२६ मिटरमा पुगेको छ ।

अघिल्ला वर्षहरुमा १ हजार २२४ मिटसम्म मात्रै पानी हुने गरेको थियो । यस्तै पिक लोड धान्ने गरी मस्र्याङदी, मध्यमस्र्याङदी र कालीगण्डकी जलविद्युत् आयोजनालाई समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

भारतबाट विद्युत् आयात भइरहेको ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत पनि थप विद्युत् आयात गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्राधिकरणले तिहारमा कुनै पनि घरमा विद्युत् अवरुद्ध हुन नहुने विबषयलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

तिहारको समयमा उद्योग तथा प्रतिष्ठान बन्द हुनेछन् । जसबाट प्रत्येक्ष रुपमा घरेलु ग्राहकलाई विद्युत् प्रदान गर्न सहज हुनेछ ।

प्राधिकरणले राजधानीलगायत देशका धेरै जसो स्थानमा प्रसारण प्रणालीको सुधार, फिडरको मर्मत, तथा बढी लोड हुने स्थान तचा ट्रान्सफर्मरको सुधार तथा मर्मत गरेको छ ।

राजधानी काठमाडौँमा आयात हुने सबै प्रसारण प्रणालीको अवस्थाका बारेमा समेत प्राधिकरणले मिहिन अध्ययन गरी समस्या हुने क्षेत्रको पहिचान तथा मर्मत समेत गरेको छ ।

बढी लोड हुने फिडरलाई विभिन्न वैकल्पिक उपाय अपनाएर सहज बनाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै तिहारको समयमा ३५० देखि ३७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने भन्दै आवश्यक सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

राजधानी काठमाडौँमा आयात हुने सबै प्रसारण प्रणालीको अवस्थाका बारेमा समेत प्राधिकरणले मिहिन अध्ययन गरी समस्या हुने क्षेत्रको पहिचान तथा मर्मत समेत गरेको छ ।

नदीमा पानीको मात्रा समेत खासै नघटेका कारण प्राधिकरण, उसका सहायकक कम्पनी तथा निजी क्षेत्रका आयोजनाले समेत जडित क्षमताअनुसार नै विद्युत् उत्पादन गरिरहेका छन् ।

कुनै पनि स्थानमा कमजोरी नहोस् भनेर सबै प्रकारको तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

यस्तै आकस्मिक रुपमा आइपर्ने प्राविधिक समस्याका लागि नो लाइटका कर्मचारीलाई तुरुन्त कार्यस्थलमा खटाइने व्यवस्था मिलाइएको छ ।

गत वर्षको तिहारमा १ हजार १ सय मेगावाटभन्दा बढी विद्युत् खपत भएको थियो ।

भारतबाट आयात भएको विद्युत् ढल्केबर सवस्टेशनमा २ सय २० केभी क्षमतामा चार्ज भइरहेकाले स्वदेशमा विद्युत् मागअनुसार आपूर्ति गर्न समेत सहज भएको अवस्था छ ।


क्लिकमान्डु