प्रतिलिटर ९ रुपैयाँ बढाउनु पर्थ्यो तर छठसम्म पेट्रोलियमको मूल्य बढाउँदैनौंः निगम




काठमाडौं । नेपाल आयात निगमले आगामी छटसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । नेपालीका ठूला चाडपर्वहरु दशैं, तिहार र छटलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाइने भएको हो ।

निगमले सेप्टेम्बर १७ मा पछिल्लो पटक मूल्य समायोजन गरेको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पाेरेसनबाट प्राप्त हुने मूल्य अनुसार निगमले उपभोक्ता मूल्य समायोजन गर्ने गरेको थियो ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भएपनि ठूला चाडपर्वलाई ध्यानमा राखेर मूल्य स्थीर गरिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले पछिल्लो पटक (सेप्टेम्बर १६) मा गरेको मूल्य समायोजनयता पेट्रोल र डिजेलमा प्रतिलिटर ८ रुपैयाँ जति मूल्य बढेर आएको भएपनि अहिलेसम्म मूल्य समायोजन नगरिएको भट्टराईले जानकारी दिए ।

‘हामीले सेप्टेम्बर १६ मा प्राप्त गरेको मूल्यपछि अक्टोबर १ र १६ मा गरी दुई पटक नयाँ मूल्य प्राप्त गरिसकेका छौं, प्रत्येक पटक पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ जतिले मूल्य बढेर आएको छ, तर दशैं, तिहार र छटसम्म मूल्य नबढाउने भनेर पूरानै मूल्य कायम गरिएको छ,’ निमित्त कार्यकारी निर्देशक भट्टराईले क्लिकमाण्डूसँग भने ।

यसरी २ पटक प्राप्त भएको मूल्य अनुसार समायोजन गर्दा यो एक महिनाको बीचमा पेट्रोल र डिजेलमा प्रतिलिटर ९ रुपैयाँभन्दा बढी मूल्य बृद्धि हुने निगमले जानकारी दिएको छ ।

छटपछि पेट्रोलको मूल्य १२४ रुपैयाँ ?
निगमले सेप्टेम्बर १७ मा तय गरेको मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ छ ।

तर, सेप्टेम्बर १७ मा गरिएको मूल्य समायोजनमा पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नोक्सानी भइरहेको निगमको भनाइ छ ।

अक्टोबर १ र १६ मा आएको मूल्यसुची अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर ४÷४ रुपैयाँ नोक्सानी भएको निगमले बताएको छ ।

निगमले कार्यान्वयनमा ल्याएको स्वचालित मूल्य प्रणाली अनुसार गर्ने हो र उसले घाटा नखाइ विक्री गर्ने हो भने पेट्रोल र डिजेलमा अब एकैचोटी प्रतिलिटर कम्तिमा पनि १० रुपैयाँभन्दा बढी मूल्य बढाउनु पर्ने हुन्छ । त्यसमा पनि नोभेम्बर १ मा प्राप्त हुने मूल्यसुची अनुसार फेरि मूल्य बढेको आएमा सोभन्दा पनि धेरै बढाउनु पर्ने हुन्छ ।

नोभेम्बरमा मूल्य बढेको सुची आएन भने पनि निगमले छटपछि मूल्य समायोजन गर्दा पेट्रोलको मूल्य प्रतिलिटर १२४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुग्ने देखिन्छ ।


क्लिकमान्डु