३ महिनामा ५ करोडको फूल आयात, तिहार पर्वले आयात बढाउँदै



काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा ५ करोड रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात भएको छ । प्रत्येक वर्ष बढ्दो क्रममा रहेको फूल आयात तिहार पर्व नजिकिंदै गर्दा झनै बढ्ने क्रममा रहेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा ५ करोड ९ लाख ३७ हजार रुपैयाँ बराबरको पुष्प आयात भएको छ ।

विभागको तथ्याङ्क अनुसार साउन महिनामा ७३ लाख ४८ हजार रुपैयाँ बराबर फूल आयात भएको छ । त्यसैगरी भदौ महिनामा १ करोड ५३ लाख ४५ हजार रुपैयाँ र असोज महिनामा २ करोड ७६ लाख ४४ हजार रुपैयाँ बराबरको फूल आयत भएको छ ।

यस्तै, गत आर्थिक वर्षको ३ महिनामा चालु वर्ष भन्दा बढी पुष्प आयात भएको भन्सार विभागले जानकारी दिएको छ । गत वर्षको साउन, भदौ र असोज महिनामा ६ करोड ८ लाख २२ हजार रुपैयाँ बराबरको पुष्प आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यो वर्षको पछिल्लो ३ महिना र गत वर्षको यही अवधिको तुलनामा ९८ लाख ८५ हजार रुपैयाँ बराबर पुष्प आयात कम भएको हो ।

गत वर्ष कुल ११ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको फूल आयात भएको थियो भने २६ लाख ८० हजार रुपैयाँ बराबरको पुष्प निर्यात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७३\७४ मा ९ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको पुष्प आयात भएको थियो भने ३४ लाख ६१ हजार रुपैयाँ बराबरको फूल निर्यात भएको तथ्यांकले देखाएको छ ।

यो वर्ष स्वदेश मै फूलको उत्पादन राम्रो
यता, फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यो वर्ष तिहारका लागि फुल फूल्ने क्रममा रहेको र मौसमले पनि साथ दिएका कारण बाहिरबाट पुष्प भित्र्याउनु पर्ने समस्या नरहेको बताएका छन् ।

चिसोले गर्दा यो पटक माग भन्दा बढी पुष्प उत्पादन भएको र त्यसलाई ढुवानीका समय कुनै नोक्सानी नभए अझ सस्तो हुन सक्ने बताए । ‘यो पटक तिहारको लागि पर्याप्त फूल फुलेको छ, डिमाण्ड भन्दा बढी फूल फुलेकोले महङ्गी खेप्नु पर्ने छैन’ श्रेष्ठले भने ।

नेपालमा ६ सय ९७ बढी पुष्प व्यवसायी पुष्प व्यवसायमा रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । हाल ४३ जिल्लाका १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतले रहेको छ ।


क्लिकमान्डु