मोरङको बिराटचोकमा यस्तो बन्दैछ पहिलो थ्री स्टार होटल ‘नेपालीरिका’



काठमाडौं । मोरङको बिराटचोकमा पहिलोपटक तीन तारे स्तरको होटल बन्दैछ । ३० करोडको लगानीमा निर्माण भइरहेको उक्त होटलले तीन तारे स्तरको सेवा तथा सुविधा दिने होटका सञ्चालक कृष्ण दुलालले जानकारी दिए ।

पूर्वाअञ्चल लुब ओइल (पीएलओ) का प्रवद्र्धकहरुको लगानीमा होटल बन्न निर्माण भइरहेको हो । बिराटचोक बजारको चोकदेखि बिराटनगर जाने बाटोतर्फ ५ सय मिटर तल रहेको उक्त होटलको नाम नेपालीरिका रहने सञ्चालक दुलालले जानकारी दिए ।

१ बिघा क्षेत्रफलमा बनिरहेको होटेलमा अत्याधुनिक भवन र पार्किङ रहनेछन् । त्यस्तै, स्वीमिङ पुल र गार्डेन पनि रहने दुलालले जानकारी दिए ।

‘पछिल्लो दशकमा बिराटचोकमा अत्याधिकरुपमा बजार बिस्तार भइरहेको छ,’ सञ्चालक दुलालले भने, ‘तर अहिलेसम्म सुविधासम्पन्न होटेल छैनन्, त्यसैले हामीले तीन तारे सरहको सुविधा दिने होटल निर्माण गरेका हौं ।’

होटलदेखि २० मिनेटको यात्रामा बिराटनगर एयरपोर्ट पुगिन्छ । बिराटनगर धेरै नै क्राउडेड भएकाले ग्राहकलाई शान्त ठाउँमा स्तरीय सुविधाससिहतको होटल निर्माण गरिएको उनको भनाइ छ ।

२०७४ मंसिर २७ गतेदेखि निर्माण शुरु भएको होटेल ०७६ मंसिर २७ गते सम्पन्न गर्ने सञ्चालक दुलालले जानकारी दिए ।

दुलालका अनुसार १ बिघा जग्गाको १२/१३ करोड रुपैयाँ पर्छ । र, त्यसमा १६ करोड रुपैयाँ खर्च गरेर होटेल बनाइएको उनले सुनाए ।

‘होटेलले बिराटचोकको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ,’ दुलालले भने, ‘स्तरीय होटेलको अभावमा बिराटचोकमा आन्तरिक तथा बाह्य पर्यटक बस्ने अवस्था थिएन ।’

पूर्वाञ्चलमा पछिल्ला वर्षहरुमा होटेल खोल्ने क्रम बढ्दो छ । केही वर्षअघिसम्म एउटा पनि तारे स्तरका होटल नभएको पूर्वाञ्चलमा पछिल्ला वर्षहरुमा आधा दर्जनभन्दा बढी तारे स्तरका होटल निर्माणाधीन अवस्थामा छन् ।

 


पुष्प दुलाल