युनिलिभरका लगानीकर्तालाई एकदिनमा लाग्यो १ अर्ब ६३ करोड रुपैयाँको घाटा



। सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी महंगो मूल्य रहेको युनिलिभरका सेयर लगानीकर्ताको सम्पत्ति एक दिनमा नै १ अर्ब ६३ करोड रुपैयाँले घटेको छ ।

युनिलिभरको सेयर मूल्य आइतबार प्रतिकित्ता १७७३ रुपैयाँले घटेको छ । आइतबारको कारोबारपछि युनिलिभरको सेयर मूल्य प्रतिकित्ता २२ हजार ५३१ रुपैयाँ छ ।

सेयर बजारमा लगानीकर्ताको सम्पत्तिको मापन गरिने बजार पुँजीकरण एक दिनमा नै १ अर्ब ६७ करोड रुपैयाँले घटेको छ ।

युनिभिलरको आइतबार बजार खुल्नु अगाडि बजार पुँजीकरण २२ अर्ब ३७ करोड रुपैयाँ थियो । कारोबार बन्द हुँदा यसको बजार पुँजीकरण २० अर्ब ७४ करोडमा झरेको छ ।

आम्दानी घट्दै जाने तथा लाभांश कम भएपछि सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्यको युनिलिभरको सेयर मूल्य घट्दो क्रममा छ ।

एकवर्ष अगाडि २९ हजार ४ सय रहेको यसको सेयर मूल्य घट्नुको पछाडि लाभांश कम हुनु नै हो । यो वर्ष युनिलिभरले प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश घोषणा गरेको थियो ।

युनिलिभरको ९ लाख २० हजार ७ सय कित्ता सेयर स्टकमा सूचिकृत छ । सिमित सेयर लगानीकर्तासँग मात्र यसको सेयर रहेको छ ।

युनिलिभर कम्पनीको सेयर मूल्य घट्दा सेयर बजारमा उत्पादन उपसमूहको परिसूचक समेत घटेको छ । ४.१३ प्रतिशतले यो समुहको परिसूचक घटेर २२२१ मा आएको छ ।


क्लिकमान्डु