दशैंको पूर्व सन्ध्यामा विराटनगर भन्सारबाट १ अर्बको कपडा भित्रियो



काठमाडौं । दशैँमा नयाँ कपडा लगाउने चलनले गर्दा नेपालमा अन्य समयमा भन्दा दशैँ नजिकिँएपछि कपडा बढी आयात हुने गरेको छ ।

नेपालमा इटाली, चीन, बंगलादेश, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, कोरिया, निकारागुआ, ओमन, जापान, ताइवान, भियतना र भारत लगायतका मुलुकहरुबाट विभिन्न डिजाइनका लत्ताकपडा आयात हुने गर्छन् ।

दशैँको चहलपहल बढे लगत्तै विभिन्न भन्सार कार्यालयहरुबाट कपडाको आयात बढेको छ । यस्तै विराटनगर भन्सारबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कपडा नेपाल भित्रिएको हो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र थापाका अनुसार साउन १ गतेदेखि असोज २२ गतेसम्म १ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपैयाँ बराबर कपडा नेपाल भित्रिएको हो ।

‘दशैँले गर्दा अन्य समयमा भन्दा बढी कपडा भित्रिन थालेको छ, ३ महिना नपुग्दै १ अर्बको कपडा भित्रियो, अरु बेला करोड भन्दा बढीको कपडा आउने गरेको थिएन,’ थापाले भने ।

यो आर्थिक वर्ष लागु भएपछि साउन महिनामा ३५ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको कपडा आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यस्तै, भदौ महिनामा ७८ करोड ३२ लाख ७२ हजार रुपैयाँ बराबरको कपडा आयात भएको छ ।
दशैँ नजिकिँएपछि कपडाको आयात क्रमशः बढ्दै गएको भन्सार विभागका तथ्याङ्क अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।

गतवर्ष आर्थिक वर्षमा ४ अर्ब ६५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको लत्ताकपडा नेपाल आयात भएको तथ्याङ्कले देखाएको छ ।


क्लिकमान्डु