कालोबजारी गर्ने ‘द कोरियन सप’मा शिलबन्दी, सूर्यविनायक नगरपालिकामा बजार अनुगमन




काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए ।

खरिद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।”

उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उनले जानकारी दिए ।

कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । विभागले बजार अनुगमनलाई तीव्रता दिएको उनको भनाइ थियो ।

सूर्यविनायकमा अखाद्य वस्तुको बिक्री
यता, दशैँ नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ ।

नगरपालिकाले सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ ।

उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन् ।

सो क्रममा अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताविना नै सञ्चालन गरेको पाइएको छ । सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौँका कारोवार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताए ।

ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ ।

नगरपालिकाले पाँच महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोवार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौँको कारोवार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए ।


क्लिकमान्डु