स्थलगत अनुगमनपछि संसदीय समितिको ठहर, सिक्टाका ठेकेदारको चरम लापरवाही




काठमाडौं । सिक्टा सिँचाई आयोजनामा निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनको बदमासी रहेको संसदीय समितिले ठहर गरेको छ ।

स्थलगत अनुगमनमा गएको संसदीय समितिले ठेकेदारका कारण आयोजनाको अवस्था लाजमर्दो भएको भन्दै उसलाई कानुनी कारवाहीको दायरामा ल्याउन समेत भनेको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । समिति नियमित रुपमा विगत ३ दिनदेखि स्थलगत अनुगमनमा रहेको छ ।

नहर परीक्षणका क्रममा पटक–पटक भत्किएपछि समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले ३ दिन सिक्टा सिँचाइ आयोजनाको मूलबाँध तथा मूलनहरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

टोलीले स्थानीयसँगसमेत अन्तरक्रिया गरेको छ । स्थानीयबासीले संसदीय समितिलाई निर्माण व्यवसायीले गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको, आयोजनाका कर्मचारी समेत ठेकेदारसँग मिलेको भन्दै गुनासो गरेका थिए ।

उनीहरुले डिजाइन भन्दा फरक रुपमा संरचना तयार पारेको र राष्ट्रिय गौरवको आयोजनालाइृ समस्यामा पारेको भन्दै तत्काल कडा कारवाही गर्न माग गरेका थिए । कालिका कन्स्ट्रक्सन राप्रपाका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी हो ।

सो कम्पनीले देशका अन्य स्थानमा निर्माण गरेको भौतिक संरचनामा समेत समस्या रहेको बताइएको छ । स्थलगत अनुगमन टोलीमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षेत्री, शान्तिमाया तामाङ पाख्रीन र शान्ता चौधरी सहभागी थिए ।

सिक्टा आयोजनाको अनुगमनमा टोलीसँगै बाँकेका सांसद महेश्वर गहतराज, पूर्वसांसद देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल र कृष्णा केसीलगायत सहभागी थिए ।

उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेकाले दोषीलाई कडा कारवाही गराउने वातावरण बनाउन समेत आग्रह गरेका थिए ।


क्लिकमान्डु