जयनगरबाट गिटी बोकेर रेल जनकपुर आयो, भारबहन क्षमता परीक्षण सफल



काठमाण्डौ । जयनगर-जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियरहरुले बताएका छन् ।

निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल हिजो जनकपुर आएको थियो । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार बहन क्षमताको परीक्षण सफल भएको रेल विभागका इन्जिनियर अमन चित्रकारले जानकारी दिनु भयो ।

यसअघि जनकपुरदेखि जयनगरसम्म न्यारोगेजमा रेल चलाइएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो ।

सोही सहमतिअनुसार हाल भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल मार्ग निर्माणको काम भइरहेको छ ।

भारत बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारी अनुसार काम भइरहेको छ ।

तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड निर्माण गरेर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । जग्गा प्राप्तिको प्रक्रिया सकिएलगत्तै बर्दिवास खण्डमा पनि रेल मार्ग निर्माण सुरु हुनेछ ।


क्लिकमान्डु