पशुपन्छी मन्त्री खनालले भने- काठमाडौंवासीले खाने मासु स्वस्थकर छैन



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले काठमाडौंमा बिक्री वितरण भइरहेका मासु खान योग्य नभएको बताएका छन् ।

उनले केही समय अघि भएको मासु पसल र मासु काट्ने ठाउँको अनुगमनको सन्दर्भमा बोल्दै व्यवस्थित बधशालाको अभावमा अस्वस्थकर मासु बिक्रीवितरण भइरहेका बताए ।

उनले विसं २०५५ को मासु ऐन अन्तर्गत भएका प्रावधान मध्ये १ अक्षरपनि कार्यन्वयनमा आउन नसकेको बताए । ‘काठमाडौंवासीले मासु खाने लायक छैन, यो नियमन गर्न नसक्नु हाम्रो कमजोरी म स्वीकार्छु,’ मन्त्री खनालले भने ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले मासुको सन्दर्भमा कुखुरा र खसीबोका काटिने ठाउँ केही सफा भएपनि भैसी र राँगाको मासुमा अस्वस्थकर भएको बताए । मन्त्री खनालले उपभोक्ता तथा सेवाग्राहीहरुलाई सजग र सचेत भएर मासु जाँचेर मात्र किन्न आग्रह गरे ।

उनले हेटौंडामा भएको एउटा बधशाला बन्द रहेको र त्यो सञ्चालनमा ल्याउन सके अत्याधुनिक रुपमा मासु काटेर व्यवस्थित गर्न सकिने बताए ।

हेटौडामा एउटा बधशाला छ, त्यसलाई केही मर्मत गरेर सञ्चालनमा ल्याउन सके, बजारमा बिक्री हुने मासु स्वस्थकर हुने उनले बताए । नेपालमा २ वटा बधशाला स्थापना भए मासु धेरै व्यवस्थित गर्न सकिने बताए ।


क्लिकमान्डु