मन्त्री पुनसँग क्यानेडियन प्रतिनिधि मण्डलको भेट, जलासययुक्त आयोजना निर्माणमा चासो




काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसंग बुधवार भएको भेटमा यस्तो धारणा राखेका हुन् ।

भेटमा मन्त्री पुनले देशभित्रै १० बर्षमा १० हजार मेगावट विजुली आवश्यक रहेको भन्दै त्यसका लागी सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताए । उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागी क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गरे ।

‘उर्जा मन्त्रालयले ५ बर्षमा पांच हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागी काम समेत तिव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पुरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ ।’ मन्त्री पुनले भेटमा भने ।

उनले आगामी बर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिए ।

मन्त्री पुनले भारतसंग यसअघि नै उर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही बर्षमात्र चीन र वङगलादेशसंग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए ।
उनले बङगलादेशले नेपालबाट ५ सय मेगावाट र भारतले १५ सय मेगावाट विजुली नेपालबाट किन्ने जानकारी समेत भेटमा दिएका थिए ।

भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजवुत बन्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरेका थिए । उनले नेपालको प्रजातन्त्रीक प्रक्रिया र शान्ती प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउने व्यक्त गरे ।

उनले दुई देशको बीचमा केही समयअघी दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुने धारणा राखे ।

भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावनाहरुबारे मन्त्री पुनसंग छलफल गरेका थिए । निजी क्षेत्रका प्रतिनिधिमण्डललाई लिएर आएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राखेका थिए ।


क्लिकमान्डु