तयार भयो जयनगरदेखि जनकपुरसम्म रेलवे, उद्घाटनमा ओली र मोदी !



फाइल तस्बीर

काठमाडौं । करिब रु ७ अर्ब लागतमा निर्माण भएको जयनगर जनकपुर–जयनगर रेलमार्गमा आगामी मंसिरमा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी गरिएको छ ।

जयनगरदेखि जनकपुरको कुर्थासम्म निर्माण सम्पन्न भएको ३४ किलोमिटर लामो रेलमार्गको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समक्षकी नरेन्द्र मोदीले गर्ने तयारी गरिएको भनिए पनि अझै यकिन भने भएको छैन ।

रेलमार्ग उद्घाटन तीर्थाटन लगायतका कार्यका लागि भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउन लागेको बताइन्छ ।

तर रेल विभागले भने उच्च राजनीतिक नेतृत्वलाई उद्घाटनका लागि आग्रह गरिएको जनाएको पनि कसले उद्घाटन गर्ने भन्ने अझै तय नभएको बताएको छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले आगामी मंसिरमा रेलमार्ग सञ्चालनमा ल्याउने गरी तयारी गरिएको बताए । उनले उच्च राजनीतिक नेतृत्वले नै रेलमार्ग उद्घाटन गर्न आग्रह गरिए पनि कसले गर्ने भन्ने तय नभएको जानकारी दिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल संचालनलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अभिब्यक्ति दिने गरेका छन् । प्रधानमन्त्री ओलीको सो चाहना राम्रोसँग बुझेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रेल उद्घाटनमा आफै आउन सक्ने अड्कल काटिएको छ ।

‘आगामी डिसेम्बर (मंसिर महिना) मा जयनरदेखि कुर्थासम्मको रेल संचालनको उद्घाटन गर्ने तयारी भएको छ, नेपाल र भारतका उच्च राजनीतिक ब्यक्तिहरुले उद्घाटन गर्ने तयारी भएपनि नेपाल र भारतबाट कसकसले उद्घाटन गर्ने भन्ने अझै यकिन भइसकेको छैन,’ इन्जिनियर चित्रकारले क्लिकमाण्डूसँग भने ।

तर, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल संचालनलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अभिब्यक्ति दिने गरेका छन् । प्रधानमन्त्री ओलीको सो चाहना राम्रोसँग बुझेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रेल उद्घाटनमा आफै आउन सक्ने अड्कल काटिएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा रेल सेवा संचालनको उद्घाटन गर्ने अड्कल काटिए पनि यकिन भने भएको छैन ।

रेल विभागले रेल बेट लिजमा सञ्चालन गर्ने तयारी गरेको छ । सो ब्यवस्था अनुसार विभागले रेलका इञ्जिन, चालक र प्राबिधिक सबै भारतीय नै ल्याउने गरी तयारी गरेको हो ।

भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन् । र, नेपालीहरुले रेल सञ्चालनको ज्ञान लिने तयारी गरिएको छ ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेलको लिक तयार भएको छ ।

नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डिब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी गरिएका छ । त्यसलाई डिइएमयू प्रणाली पनि भनिन्छ ।

सो रेलको एउटा डिब्बामा ७५ देखि १०० जनासम्म यात्रुले यात्रा गर्न सक्ने रेल विभागले जानकारी दिएको छ । अहिले निर्माण भएको रेलवे लिक एकतर्फी हो । यस्तो रेल दिनमा ३ देखि ४ पटकसम्म ओहोरदोहोर गर्न सक्ने अनुमान रेल विभागको छ । रेलले कतिपटक ओहोर दोहोर गर्छ भन्ने कुरा यात्रुको संख्याले निर्धारण गर्नेछ ।

यस्तै आगामी बर्ष बर्दिबाससम्मको ६९ किलोमिटर रेल निर्माण सम्पन्न हुने तयारी विभागको छ ।


क्लिकमान्डु