आँखुखोलाको आइपीओ खुल्यो, ५० देखि ६ हजार कित्तासम्म आवेदन भर्न पाइने
काठमाण्डौ । आँखु खोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ) खुला गरेको छ । १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आइपीओ खुला गरेको हो ।
असोज २६ गतेसम्म भर्ने म्याद राखिएको छ । तर यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरमा आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्ने धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मको आवेदन भर्न पाइने जनाइएको छ । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय आइपीओ आवेदन भर्न सकिने छ ।
यसअघि आँखु खोला कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र वासिन्दाको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेपनि ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।
आँखुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । धादिङ्गको त्रिपुरासुन्दरी गाउँ पालिकामा विद्युत उत्पादन केन्द्र रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।