कृषि मन्त्रालयले जारी गर्यो नयाँ निर्देशिका, अब डेरी पसलले अनुज्ञा पत्र लिनु पर्ने




काठमाडौं । खुल्ला डेरी पसलले पनि अनुज्ञा पत्र लिनु पर्ने भएको छ । आफै दूध तथा दूग्ध पदार्थ उत्पादन गर्ने डेरी पसलहरुले अनिवार्य रुपमा अनुज्ञा पत्र लिनु पर्ने नयाँ निर्देशिकामा उल्लेख गरिएको हो ।

डेरी पसलले आफैँ दूध तथा दुग्ध पदार्थ उत्पादन गर्न चाहेमा सम्बन्धित निकायबाट अनुज्ञा पत्र लिएर मात्र उत्पादन तथा विक्री वितरण गर्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

उनले दूध तथा दूग्ध पदार्थमा स्वच्छता एवम् गुणस्तर सम्बन्धी निर्देशिका २०७५ को प्रस्तावनामा यस्तो यस्तो प्रावधान उल्लेख भएको जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको यस निर्देशिकामा खुल्ला दूध आफै उत्पादन गरी विक्री वितरण गर्ने डेरी पसलहरुले पनि दर्ता अनुज्ञा पत्र अनिवार्य रुपमा लिनु पर्ने उल्लेख गरिएको छ ।

यो निर्देशिका कृषि तथा पशुपन्छी मन्त्रालयले स्विकृत गरेको ६ महिनामा पूर्ण रुपमा लागु हुने वस्तीले जानकारी दिए ।

निर्देशिका अनुसार डेरी पसलहरुले उत्पादन गरी विक्री वितरण गर्ने गरेका दूध तथा दुग्ध पदार्थ नेपाल सरकारले तोकेको गुणस्तर परिधि अनुरुप हुनु पर्नेछ ।

यस्तै डेरी पसलले दुग्ध उद्योगबाट उत्पादित दुग्ध पदार्थमा लेवल (खाद्य नियमावली २०२७ अनुसार) भएका प्रशोधित दूध तथा दुग्ध पदार्थहरु मात्र खरिद तथा विक्री वितरण गर्नु पर्नेछ ।

तर, यस प्रावधानले अनुसूची ४ अनुसारको गुणस्तर पूरा भएको काँचो वा अप्रशोधित दूध घुमफिर गरी खुल्ला रुपमा स्टेनलेस स्टीलको भाँडामा राखी विक्री वितरण गर्न बाधा पारेको नमानिने निर्देशिकामा उल्लेख छ ।

डेरी पसलले प्रशोधित दूध तथा दुग्ध पदार्थ रेफ्रिजेरेटेड सोकेसमा राखी अनुसूची १३ अनुसारको तापक्रम कायम गरी भण्डारण तथा विक्री वितरण गर्नु पर्ने छ ।

यस्तै डेरी पसलहरुले उचित स्वच्छता र सरसफाइ कायम राख्नु पर्ने र दूध तथा दुग्ध पदार्थ विक्रीवितरण गर्ने कार्यमा संलग्न व्यक्तिले सरसफाइमा विशेष ध्यान पुराउनु पर्ने वस्तीले बताए ।

डेरी पसलले खाद्य स्वच्छतासँग सम्बन्धी कुन कुरा अभिलेख राख्नु पर्छ ?
१. दूधको स्रोत, परिमाण, गुणस्तर र विक्री वितरण लगायतका विवरणहरुको अभिलेख ।

२. दूध प्राप्ती र विक्री गर्दाको समयमा रेकर्ड गरिएको तापक्रम सम्बन्धी अभिलेख ।

३. डेटरजेन्ट\साबुन लगायत सरसफाइमा प्रयोग भएका रसायनहरुको लागत लगायतका अभिलेखहरु राख्नु पर्ने व्यवस्था निर्देशिकामा छ ।


क्लिकमान्डु