असोज २३ देखि ताम्राकार कम्प्लेक्समा मोबाइल मेला, ६० प्रतिशतसम्म छुट



काठमाडौं । न्यूरोड स्थित ताम्राकार कम्प्लेक्सले वडा दशैँको अवसरमा मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ र ताम्राकार कम्प्लेक्सको संयुक्त आयोजनामा यो मेला हुन लागेको हो ।

ताम्राकार कम्प्लेक्समा हुन सो मेला असोज २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले मोबाइल मेलामा ४ प्रतिशत देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिए ।

उनले यो पटक मोबाइल मेलामा लक्की ड्र नगरी प्रत्येक मोबाइल बिक्री बापत २० रुपैयाँ संकलन गरी रबि लामिछाने मार्फत कालिकोट जिल्लामा नमूना सामुदायिक अस्पताल निर्माणमा सहयोग गर्ने बताए ।

मोबाइल मेला अवधिको ७ दिनमा १० हजारदेखि १५ हजार मोबाइल सेट विक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस्तै, दशैमा मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकलाई स्मार्ट टेलिकमको सिम कार्ड समेत निःशुल्क प्रदान गर्ने योजना रहेको साउदले बताए ।

संघका सचिव गुरुदत्त शर्माले ताम्राकार कम्प्लेक्स मोबाइल हबको रुपमा स्थिापित भएको बताए ।

पत्रकार सम्मेलनमा सामसङ नेपालका जेनेरल म्यानेजर प्रणयरत्न स्थापितले मोबाइल मेला राम्रोसँग सम्पन्न होस् भन्ने सुभकामना दिए । उनले ताम्राकार कम्प्लेक्सको सहकार्यमा सधै सामसङ अघि बढिरहेको बताए ।

मोबाइल इम्पोर्ट एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले मोबाइल किन्दा उपभोक्तालाई होलोग्राम भएको स्टिकर हेरेर मात्र किन्न र विक्री गर्न आग्रह गरे ।


क्लिकमान्डु