नेपालीलाई नेपालीले नै ठग्छन् मलेसियामा, दूतावास सहयोगी नभएको गुनासो



काठमाडौं । नेपालीलाई जहाँपनि ठगिने नै पिरलो । देश भित्रपनि सोझा साँझा नेपाली ठगिएकै छन् । विदेशमापनि नेपालीले नेपालीलाई नै ठगेका छन् । ठग्ने र ठगिनेको चक्र घट्दो क्रममा होइन बढ्दो क्रममा रहेको छ ।

पछिल्लो पटक सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो । प्रवेशाज्ञा, हावई टिकट र स्वास्थ्य परिक्षणको नाममा ठगी भइरहेको पाइएपछि सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो ।

गत जेठ ३ गतेदेखि कामदार पठाउन रोक लगाएको सरकारले कुटनीतिक च्यानल मार्फत मलेसिया सरकारसँग वार्ता गर्यो र समस्या समाधानका लागि पहल गर्यो ।सरकारको पहलले सार्थकता पाउने चरणमा पुगेको छ ।

केही समय भित्रै नेपाल र मलेसियाबीच श्रम सम्झौता हुन लागेको छ । तर, मलेसियामा नेपाली कामदार माथि ठगी गर्ने गिरोह संगठित रुपमा नै परिचालित भएको नेपाली दूतावास मलेसियाले बताएको छ ।

नेपाली ठग्ने नेपालीलाई नै कारवाही गर्न भने दूतावास पूर्ण रुपमा असफल जस्तै भएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको छ ।

पछिल्लो २ महिनामा मात्रै करिब १०० भन्दा बढी कामदार ठगिएका छन् । त्यसरी ठगिनेमा अवैध रुपमा मलेसिया बस्दै आएका कामदार बढी रहेका छन् । ठगहरुले मोटो रकम उठाउने र फरार हुने गरेका छन् । जानकारी पाएरपनि नेपाली दूतावासले कुनै कारवाही गर्न सकेको छैन ।

दूतावासले मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाईपनि नदिएको प्रष्ट पारेको छ ।

नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेशिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिक रुपमा बसोवास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको विषयमा नेपाली दूतावास र मलेसियाको गृह मन्त्रालयमा समेत उजुरी परेको छ । तर, कारवाही हुन सकेको छैन ।

दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेशियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारवाहीका लागि पत्राचारसमेत भएको दावी गरेको छ ।

अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्र्नुपर्ने भएमा मलेशियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैँले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।

दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिक रुपमा बसोवास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ ।

वैधानिक रुपमा नेपाल फर्कन मलेशिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहो¥याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेशियाको अध्यागमन कार्यालयमा तोकिएको दण्ड जरिवाना तिरी वैधानिक रुपमा नेपाल फर्कन सक्ने जनाएको छ ।

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्न समेत आग्रह गरेको छ । रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । तर, दूतावासले आफूहरुको कुनै पनि गुनासो नसुनेको भन्दै नेपाली कामदारले पीडा मात्रै पोख्दै आएका छन् ।


क्लिकमान्डु