मेलम्चीका अधिकांश पसल दर्ताबिना सञ्चालनमा



मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ ।

अनुगमन समितिका संयोजक रामबहादुर लामाले प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेको बताए ।

तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिइ नगरले कर मात्र लिएको गुनासो गरे । त्यस्तै अर्का व्यवसायी दीपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई कर मात्र लगाएर दुःख दिएको आरोप लगाए ।

नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए पाँच हजार जरिवाना गरिने बताए ।


क्लिकमान्डु